
शुक्रवार , बैशाख १२, २०८२
भैरहवा, १२ वैशाख । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुपन्देहीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने लगायतका माग राख्दै भैरहवामा धर्ना कार्यक्रम गरेको छ । प्रथम महाधिवेशन भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम अन्तर्गत धर्ना (जनपरिचालन) कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।
शुक्रबार भैरहवास्थित बुद्धचोकमा आयोजित कार्यक्रममा नेताहरुले जनताले प्रत्यक्ष रुपमा राष्ट्रप्रमुख चुनिन पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताए ।
पार्टीको रुपन्देही जिल्ला संयोजक शोभाकान्त नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख (राष्ट्रपति) र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने माग गरे । उनले मुलुकमा भ्रष्टाचार उन्मूलनका लागि जननिर्वाचित लोकपाल गठन हुनुपर्ने बताए । जिल्ला संयोजक नेपालले शुक्रबार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम गरिएको जानकारी दिए ।
पार्टीको जनपरिचालन समिति रुपन्देहीकी संयोजक विमला वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा जनपरिचालन समिति लुम्बिनी प्रदेशका सदस्य हरि घर्ती मगर, पार्टीका केन्द्रीय सदस्य कमल खनाल, सुशिला पुलामी मगर, रुबिना भण्डारी, विज्ञ परिषद् सदस्य मुरारीलाल अग्रवाल, केन्द्रीय सल्लाहकार समिति सदस्य ओमप्रकाश वि.क., जिल्ला सचिवालय सदस्य विष्णु खत्री लगायतले बोलेका थिए । कार्यक्रममा रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगरका अध्यक्ष विजय उपाध्यायले स्वागत गरेका थिए ।
सहभागीहरुले ‘राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’, ‘अन्त्य गरौं भ्रष्टाचार, बनाऔं समृद्धिको आधार’, ‘समृद्धिका लागि स्वदेशमै लगानी र श्रम, वैदेशिक पलायनता र श्रम शोषणविरुद्ध हाम्रो अभियान’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij