
शनिवार , बैशाख १३, २०८२
लुम्बिनी, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्तिको महत्व थप बढेर गएको बताएका छन् । उनले विश्वमा बढ्दै गएको अशान्ति र युद्धलाई शान्तिको मार्गबाट अगाडि बढाउनुपर्ने बताएका हुन् । हतियार र युद्धले मानव अस्तित्वलाई संकटमा पार्ने बताउँदै उनले बुद्धका विचारलाई विश्वभर फैलाउनुपर्ने बताए ।
लुम्बिनी विकास कोष लगायतका विभिन्न संघ–संस्थाको आयोजनामा लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वका कतिपय घटनाका कारण विश्व शान्तिका लागि चुनौती बढेको बताए । एसियाली बौद्ध साँस्कृतिकको संरक्षण र प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको कार्यक्रमले विश्व शान्तिका लागि योगदान पुर्याउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विश्व शान्तिका लागि बुद्धिजमको आवश्यकता बढेको बताउँदै सबैले शान्ति र करुणालाई अंगिकार गर्नुपर्ने बताए । ‘विश्वमा युद्धको घटना बढेका छन्, खतरनाक हतियारको निर्माण बढेको छ, युद्ध र हतियारको प्रयोगले कोही पनि अगाडि बढ्न सक्दैन्, प्रधानमन्त्री ओलीले भने–‘विश्वभरीका सचेत नागरिकले विश्व शान्तिको आवश्यकतालाई महसुस गर्दै शातिको मार्गका हिंड्नुपर्ने बेला आएको छ ।’ बुद्ध र शान्तिका शिक्षाको महत्व बढेको उनको भनाइ छ ।
उनले शान्ति, करुण, सह-अस्तित्व र पारस्परिक सम्बन्धको महत्व अझै बढेर गएको बताउँदै बुद्धका विचारलाई सबैले अनुसरण गर्न जरुरी रहेको बताए । शान्ति र मानवताका विचारलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरकारले काम गरिरहेको बताउँदै उनले शान्तिका पक्षका विचारलाई सबैले अंगीकार गर्न जरुरी बताए । विश्वभर बुद्धका अनुयायी बढेको प्रधानमन्त्री ओलीको दावी छ ।
चौथो एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा ४० देशका प्रतिनिधिको सहभागीता छ । एसियाली बौद्ध साँस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न एसियाली बौद्ध साँस्कृतिक कार्यक्रमको प्रस्तुति देखाइएको थियो । सो अवसरमा स्याब्रो नाँच, यल्मो, नेवारी, चाईनिज र बज्रयोगिनी नाँच प्रस्तुत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij