
शनिवार , बैशाख १३, २०८२
लुम्बिनी, १३ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन साँस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताएका छन् । नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीनबीचको प्राचीन साँस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताएका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ । यो सेमिनारले नेपाल र चीनबीचको साँस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
‘लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो’उनले भने–‘बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।’
नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै साँस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिए । उनले सेमिनारले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वास व्यक्त गरे ।
चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिन सक्ने बताए । विशेष गरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनले उल्लेख गरे । उनले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए ।
‘यो सेमिनार केवल बौद्धिक विमर्शको मञ्च मात्र होइन, नेपाल र चीनबीचको मित्रता, सहकार्य र साँस्कृतिक एकताको उत्सव पनि हो,’ मुख्यमन्त्री आचार्यले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij