
बिहिवार , बैशाख १८, २०८२
भैरहवा, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज लिला गिरीले यो देशको सर्वागींण विकासका लागि एमालेले जति अरु कसैले नगरेको दावी गरेका छन् । उनले एमालेले अरु भन्दा राम्रो काम गरेको दावी गरेका हुन् ।
एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको नव वर्ष २०८२ साल र मजदूर दिवसको अवसरमा शुभकामना आदान–प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रममा नेता गिरीले यस्तो बताएका हुन् । ‘एमालेका नेता–कार्यकर्ताहरुले जनता, मुलुकको विकास र प्रगतिप्रति जति राम्रा काम गरेका छौं, हिम्मतका साथ कसैले भन्नसक्नुपर्छ कि तिमीहरुले भन्दा हामीले राम्रो काम गरेका छौं, त्यो भन्ने ठाउँ कसैलाई छैन । हामीले त्यो स्थान प्राप्त गरेका छौं । यस मानेमा हामीले गौरवबोध गर्नुपर्छ, ’उनले भने ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले एमाले जनताबीच लोकप्रिय रहेको बताए । ‘हाम्राविरुद्ध सम्पूर्ण प्रतिक्रियावादी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति लागेका छन् र हाम्राविरुद्ध कुप्रचार गर्ने काम भएको छ । हामीले गर्नुपर्ने थप काम के छ, त्यसको कति परिणाम प्राप्त गर्यौं, त्यसमा थप गम्भिर भएर अगाडि बढ्नुपर्ने दायित्व हाम्रो कांधमा छ, ’उनले भने । उनले एमाले एकताबद्ध भएर अघि बढे कसैले पनि पराजित गर्न नसक्ने बताए ।
त्यस्तै पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले एमाले बिना देशको विकास हुन नसक्ने बताए । उनले एमालेप्रति जनताको आशा र भरोसा रहेको बताए । उनले अब जनताको आम्दानीको स्रोत बढाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले राम्रा कुराको खुलेर प्रंशसा गर्दै कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखे । उनले विकास निर्माणलाई नै मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।
पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले एमालेविरुद्धका भ्रम चिर्दै अघि बढ्नुपर्ने बताए । उनले अर्काको आलोचना गरेर मात्र अघि बढ्न नसकिने बताए । एमाले जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले एमाले नेतृत्वमा सरकार गठन भएपछि देश र जनताको पक्षमा राम्रो काम भएको बताइन् ।
एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, पार्टीका पोलिटब्यूरो सदस्य लिला गिरीको प्रमुख आतिथ्यता, नगर कमिटी उपसचिव एवं भित्तेपात्रो प्रकाशन समिति संयोजक सरोज ठकुरीको स्वागत तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij