
शनिवार , बैशाख २०, २०८२
भैरहवा, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले शुक्रबार केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत ज्ञापनपत्र बुझाएको हो ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा जिल्लाका विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझाव समेटेर ज्ञापनपत्र बुझाइएको अध्यक्ष शाहले बताए । जिल्लाको वस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएकोे हो ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले मागहरु राष्ट्रका लागि राम्रो दस्तावेज भएको बताउँदै मागहरुलाई प्रधानमन्त्री कार्यालय समक्ष पुर्याउने प्रतिबद्धता जनाए । उक्त अवसरमा पार्टीका उपाध्यक्ष अविराम विकले आन्दोलनका बारेमा जानकारी गराएका थिए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय सदस्य उमा काफ्ले, लुम्बिनी प्रदेश सदस्यहरु ऋषिराम पाण्डे, कमल भण्डारी, लक्ष्मी पाण्डे, रमाकान्त यादव, उपसचिवहरु रामबहादुर बस्नेत, बाबुराम अर्याल, शारदा पहारी, आशा चौधरी लगायतको उपस्थिति थियो ।
केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले बैशाख १७ गते प्रधामनन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापनपत्र बुझाएको थियो । त्यसै गरी पालिका र वडा पालिका कमिटीले वैशाख २२ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij