
शनिवार , बैशाख २०, २०८२
भैरहवा, २० वैशाख । अण्डर–१६ प्रदेशस्तरीय क्रिकेट टीम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबारदेखि जिल्लास्तरीय टीम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक धिरज अधिकारी क्षेत्रीले जानकारी दिए ।
एशियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार यही जुन २०२५ मा ‘एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले यही २०८२ जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसका लागि प्रादेशिक क्रिकेट टीम छनोटका गर्न भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।
क्षेत्रीका अनुसार सार्वजनिक सूचना आह्वानपछि यु–१६ का १ सय २४ जना खेलाडीहरुले फारम भरेर छनोट खेलमा सहभागीता जनाएका छन् । यी खेलाडीहरुबाट उत्कृष्ट छनोट गरी ४ टीम बनाई मंगलबारदेखि प्रतिष्पर्धा गराइनेछ । प्रतिष्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टीम बनाइने क्षेत्रीले बताए । खेलाडीहरुलाई प्रशिक्षक शंकर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनेछन् ।
छनोट खेलमा सहभागी हुन आएका क्रिकेटर आरिफ खान, स्वस्तिक पराजुली र समीर ओलीले टिममा छनोट हुनका लागि खेलाडीहरुबीच तीव्र प्रतिष्पर्धा रहेको जनाए । आफूहरुले राम्रो प्रदर्शन गरी छनोट हुने प्रयासमा रहेको उनीहरुको भनाइ छ ।
प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकाले छनोट खेलमा सहभागीता राम्रो भएको बताए । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समावेश गरिने जनाउँदै त्यसका लागि तयारी थालिएको जनाए । धेरै खेलाडीहरु सहभागी भएकाले आफूहरुको प्रयास राम्रो गर्नेहरुलाई टीममा राख्ने भएको उनको भनाइ छ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार जिल्लाका विभिन्न एकेडेमी र विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरु टीममा समावेश हुनका लागि प्रतिष्पर्धामा छन् । उनले संघले सञ्चालन गरेको रुपन्देही क्रिकेट एकेडेमी र सिद्धार्थ क्रिकेट मैदानमा खेलाडीहरुलाई स्पर्धा गराइने बताए । राम्रा खेलाडी छनोट गरी राष्ट्रिय टीममा रुपन्देहीका धेरै भन्दा धेरै खेलाडी समावेस होउन् भन्ने आफूहरुको उद्देश्य रहेको अध्यक्ष थापाको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij