
शनिवार , बैशाख २०, २०८२
भैरहवा, २० वैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एउटा एअरपोर्ट चलाउन नसक्ने प्रधानमन्त्रीले देश कसरी चलाउन सक्नहुन्छ भन्दै प्रश्न गरेका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ कि आउँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
शनिबार रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले नेपालकै गौरवको रुपमा रहेको यो विमानस्थल सञ्चालन भएर पनि अहिले ठप्प भएको बताए । ‘यो एअरपोर्ट नचलेका कारण व्यवसायीको पूँजी डुबिरहेको र विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएका होटल र पर्यटन व्यवसाय धरासायी भएका छन् । उनले भने–‘म प्रधानमन्त्री र अहिलेको पर्यटनमन्त्रीलाई सोध्न चाहन्छु तपाईहरुले किन एअरपोर्ट चलाउनुभएन ?’
पूर्वमन्त्री समेत रहेका साहले एअरपोर्ट नचलाउने भए मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे । ‘व्यवसायी संकटमा छन्, पर्यटक आउँछन् भनेर पर्यटन, होटल व्यवसायीले लगानी गरे । तर, अहिले त्यो लगानी धरापमा छ’उनले भने– ‘म अर्थमन्त्रीलाई भन्न चाहन्छु, सरकारले व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्छ ।’
वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी नभएको उनले आरोप लगाए । प्रतिनिधि सभा सदस्य समेत रहेका साहले अहिले देशमा लुटतन्त्र र दलतन्त्र रहेको दावी गरे ।
अहिलेसम्म पुरानै नेताले शासन गरिरहेको उनले बताए । जनादेशविपरीत एमाले–काँग्रेस मिलेर बनेको यो सरकार जनविरोधी र आप्राकृतिक भएको उनले जिकिर गरे । अहिले मुलुकमा मनोमानी र अत्याचार बढेको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij