
मंगलवार , बैशाख २३, २०८२
काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई सुझाव दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भट्टराईले विपक्षी दलका नेता प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, स्वार्थ समूह र बिचौलिया भन्दै पटकपटक टिप्पणी गर्ने गरेको भन्दै सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नगर्न सुझाव दिएका हुन् ।
धारा ७६ (२) अनुसार बनेको प्रचण्डको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने कुन संविधानको व्याख्या हो भन्दै उनले प्रश्न गरे । उनले पराम्परागत प्रणालीलाई केही हस्तक्षेप गरेर सरकारले अहिले उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको बताए ।
पूर्वमन्त्री समेत रहेका भट्टराईले सरकार गठन हुँदा भएको सहमति, सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम, संसद र संसदीय समितिहरुले दिएको निर्देशनको जगमा अहिलेको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरे । उनले स्रोत सुनिश्चित नहुँदै हजारौ आयोजना घोषणा गर्ने र अलपत्र पार्ने कामलाई अन्त्य गर्दै अहिले प्राथमिकीरणका आधारमा आयोजना छनौट गर्ने काम गरेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij