२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले लुम्बिनीले बुटवल र नेपालगंजमा स्थायी स्कूल सञ्चालन गर्ने

बुधवार , बैशाख २४, २०८२

रुपन्देही, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीले बुटवल र नेपालगञ्जमा पार्टी कार्यकर्तालाई वैचारिक रुपमा स्पष्ट गर्न स्थायी रुपले स्कूल सञ्चालन गर्ने भएको छ । प्रदेश पार्टी स्कूल विभागद्वारा आयोजित पार्टी सञ्चालनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीले सो सम्बन्धी निर्णय गरेको हो । 

आगामी साउन ७ गते पुष्पलाल जन्मजयन्तीको अवसर पारेर औपचारिक प्रारम्भ गरिने पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले घोषणा गरेका छन् । पार्टीका उपमहासचिव, स्कूल विभाग प्रमुख तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले स्कूलका लागि तीन तहको स्कूल र चार तहको पाठ्यक्रम बनाइएको जानकारी दिए । उनले जिल्ला कमिटीले आधारभूत तह, प्रदेशले माध्यमिक तह र केन्द्रले उच्च तहको प्रशिक्षण दिने गरी तयारी गरिएको बताए । यसबाहेक पनि अध्ययन, अनुसन्धान र नीतिसम्वन्धी पनि प्रशिक्षणको व्यवस्था गरिएको छ ।

पार्टीले अबदेखि आधारभूत तहको प्रशिक्षण नलिएको कार्यकर्ता कुनै पनि राजकीय पदमा प्रतिष्पर्धा गर्न नपाउने व्यवस्था गरिएको प्रचार विभागका प्रमुख डिआर घिमिरेले जानकारी दिए । कार्यशाला गोष्ठीको दोस्रो दिन ६ वटा समूह बनाई वैचारिक/राजनैतिक कामको अवस्था र समस्या, यसमा पार्टी स्कूलको भूमिका, वैचारिक/राजनैतिक काममा तय भएका पाठ्यक्रमहरुको उपयोगिता, पार्टी स्कूलमार्फत नियमित स्कूल/प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न के गर्नुपर्ला, कमिटी र कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार्न कस्तो शिक्षाको आवश्यकता तथा नियमित पार्टी स्कूल/प्रशिक्षण कार्यक्रम संचालनका लागि आवश्यक योजना निर्माण, समन्वय र सहयोगका लागि सम्बिन्धत पार्टी कमिटीको भूमिकाजस्ता विषयमा ठोस र मूर्त रुपले छलफल गरी समूहगत सुझाव प्राप्त भएका छन् ।

केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरु रामशरण प्याकुरेल र बद्री खनालले सहजीकरण गरेका थिए । कार्यशालाको प्रतिवेदन तयार गर्न गठित स्टेरिङ् कमिटीको तर्फबाट डीआर घिमिरेले १५ दिनभित्र सम्पूर्ण विवरण र आवश्यक सुझावसहितको प्रतिवेदन बुझाइने प्रतिवद्वता व्यक्त गरेका छन् । उक्त कमिटीमा दलबहादुर गुरुङ, युवराज घिमिरे, कल्पना थापालगायत ५ जना छन् ।

कार्यक्रमको समापनका अवसरमा प्रदेश स्कूल विभाग प्रमुख तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठले रुपन्देही र बाँके जिल्लाबाट विशेष प्रतिवद्वता लिदै अबका दिनमा स्कूललाई व्यवस्थित गरिने जानकारी दिए ।