२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा–१४ मा नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सुरु

बुधवार , बैशाख २४, २०८२

तिलोत्तमा, २४ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सुरु भएको छ । महिला नेतृत्व मंच तिलोत्तमाको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा सुरु भएको तालिममा वडाभित्रका ६० महिला सहभागी भएका छन् । 

तालिमको बुधवार उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाणले महिला सक्षम भए घर, परिवार र समाज नै सक्षम हुने भएकाले यस्तै तालिमले महिलाको विकासमा टेवा पुर्याउने बताए । उनले महिलाले आफू सुन्दर हुन राम्रा कपडा, गहना पहिरिएर सुन्दर देखिएझै बोल्ने कलाको विकास पनि सोही सरह भए अघि बढ्न र हरेक जिम्मेवारी सुन्दरतापूर्वक निर्वाह गर्न सफल हुने बताए । नगरप्रमुख खाणले तिलोत्तमा नगरपालिका महिला, बालबालिका तथा हरेक नागरिकको विकासका लागि कार्यक्रम गरेर अघि बढिरहेकाले यो तालिम पश्चात नेतृत्व तहमा आवाज उठाउने गरि महिला सहभागीता हुनुपर्ने बताए ।

त्यस्तै तिलोत्तमा–१४ का वडाअध्यक्ष आश्विन पौडेलले महिलाकै क्षेत्रमा २० औं वर्ष काम गरेपछि आफू राजनीतिक धारमा प्रवेश गरेकाले महिलामाथि हुने हिंसा, उनीहरुलाई गरिने व्यवहार परिवर्तनका लागि नेतृत्व विकास र बोल्ने कला जरुरी रहेको बताए । उनले वडागत कार्यक्रम मात्र नभइ अन्य दातृ निकायसँग सहकार्य गरी धेरैभन्दा धेरै कार्यक्रम गरेर महिलालाई अघि बढाउन आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा सामाजिक डिभिजन कार्यालयका प्रमुख हरि विष्टले महिला अघि बढ्ने र क्षमता विकास गर्ने विषयमा कार्यालयले सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले एउटै वडाका ६० महिला लाभान्वित हुँदा उनीहरुमार्फत अन्य महिलाले समेत ज्ञान सिक्ने र अघि बढ्ने बताए ।

महिला नेतृत्व मंचकी अध्यक्ष बाला घिमिरेले आफूहरुले यस खालका कार्यक्रम गरी महिलाको विकासमा सहयोगी भूमिका खेल्न चाहेको बताइन् । उनले यस वर्ष केही कार्यक्रम गरेको र आगामी वर्ष आफूहरुले दिएको तालिमबाट पोक्त भएका महिलाले नै कार्यक्रम माग गर्ने, सञ्चालन गर्ने र अघि बढ्ने विश्वास लिएको बताइन् ।

कार्यक्रममा गोपाल पाण्डे, अर्चित श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । कार्यक्रमको सञ्चालन मंचकी सचिव कोपिला काफ्लेले गरेकी थिइन् ।