२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ओमसतियामा उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

बिहिवार , बैशाख २५, २०८२

भैरहवा, २५ वैशाख । ओमसतिया गाउँपालिका, रुपन्देहीको आयोजनामा बिहीबारदेखि उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । ओमसतिया–३ हाटीफर्साटिकरस्थित गाउँपालिका परिसरमा रहेको भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । 

गाउँपालिकास्तरीय प्रतियोगितामा वडा नम्बर १ बाट २ टीम सहभागी छन् भने वडा नम्बर २, ३, ४ र ५ बाट एक/एक टीम तथा गाउँपालिकाका महिला कर्मचारीको एक टीम गरी जम्मा ७ टीमको सहभागीता  छ । 
शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टीमले नगद ५० हजार रुपैयाँ, ट्रफी तथा पदक प्राप्त गर्नेछन भने उपविजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यसै गरी तेस्रो हुनेले १५ हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृट खेलाडीलाई ५ हजार रुपैया प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य उद्देश्य महिला दिदीबहिनीहरुलाई चुलोचौको तथा घरका कामबाहेक पनि खेलकुदमा लगाई खेल प्रतिभा प्रष्फुटन गर्ने रहेको प्रतियोगिता संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् ।

प्रतियोगिताको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले रेफ्रिलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । खेल उद्घाटन गर्दै अध्यक्ष यादवले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । गाउँपालिकामा रहेका खेलाडीहरुलाई अघि बढन विभिन्न माध्यमबाट सहयोग गर्ने गरेको उनको भनाइ छ ।

IMG_4406.jpg

भलिबल खेलको उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगर, वडा नम्बर ३ का अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डे, वडा ६ का वडाअध्यक्ष शिव कुमार धवल, लेखा अधिकृत कमल शर्मा लगायतको उपस्थिति थियो । उदघाटन सत्रको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापा राउतले गरेकी थिइन् ।

प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर १ को ए टिमले वडा नम्बर २ लाई सोझो सेटमा २–० ले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । २ नम्बरको ए टीमले पहिलो सेट २८–२६ तथा दोस्रो सेट २५–२१ अंकले जितेको हो । 

त्यसै गरी बिहीबार नै सम्पन्न अर्को खेलमा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई २–० सेटले हराउन सफल भयो । पहिलो सेट २५–१ ले तथा दोस्रो सेट २४–१३ ले हराउँदै वडा नम्बर ४ प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । प्रतियोगिताको सेमिफाईनल, फाईनल तथा तृतीय स्थानको खेल शुक्रबार सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।