
शुक्रवार , बैशाख २६, २०८२
बुटवल, २६ वैशाख । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा महिला पुरुष ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता हुने भएको छ । क्लबले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी यही वैशाख २७ गते शनिबार देवीनगर ब्याडमिन्टन क्लबमा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पनि क्लबले बताएको छ ।
प्रतियोगितामा रोट्रयाक्ट र रोटरी क्लबहरुमा आबद्ध सदस्यहरु सहभागी हुन पाउने कार्यक्रम संयोजक समिर पाण्डेले जानकारी दिए । ब्याडमिन्टन र टेबलटेनिस दुवै प्रतियोगतामा महिला पुरुष सिंगल र डबल गरी ४ वटा मापदण्डमा प्रतिष्पर्धा गराइने उनले बताए ।
दुवै प्रतियोगितामा विजेता हुने टीमले सिंगलतर्फ नगद रु.३ हजार, मेडल र प्रमाणपत्र तथा डबलतर्फ रु.५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक पाण्डेले बताए । प्रतियोगितामा सहभागी हुन सिंगलतर्फ एक टीमलाई रु.३ सय र डबलतर्फ रु. ५ सय शुल्क तोकिएको उनले बताए ।
प्रतियोगितामा करिब ७० वटा टीम सहभागी हुने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सरोज पाण्डेले बताए । दुवै प्रतियोगितामा स्वतन्त्र रेफ्री रहने बताउँदै विवादरहित ढंगले कार्यक्रम सम्पन्न हुने उनले बताए । प्रतियोगितामा सहभागी हुने टीमले शुक्रबार साँझसम्म नाम दर्ता गरिसक्नुपर्ने अध्यक्ष पाण्डेले बताए । एउटा क्लबबाट एक भन्दा बढी टीम पनि सहभागी हुन पाउने तर, खेलाडी क्लबको सदस्य हुनुपर्ने उनले बताए ।
खेल क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष विमल ढकालले बताए । साथै उनले प्रतियोगितामा सहभागीताका लागि आग्रह पनि गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको आयोजकको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij