
शुक्रवार , बैशाख २६, २०८२
तिलोत्तमा, २६ वैशाख । रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेपाल सितेरियो कराँते दो संघ तिलोत्तमाका अध्यक्ष एवं प्रशिक्षक सन्तु दंगोरिया थारुले बताए ।
सितेरियो करांते दो संघ तिलोत्तमाको आयोजनामा यही जेठ ३ र ४ गते उक्त प्रतियोगिता हुने भएको हो । तिलोत्तमा नगरपालिा वडा नम्बर ३ स्थित बिग चेयर रिसोर्टमा हुने सो कार्यक्रमको तयारी पूरा भइसकेको संस्थाका अध्यक्ष थारुले बताए । प्रतियोगिताको लागि भारत, भुटान, श्रीलंका, बंगलादेश र नेपालका गरी साढे ३ सयदेखि ४ सय जना सहभागी हुने उनले जानकारी दिए । अध्यक्ष थारुले यस्तो खालको प्रतियोगिताले स्वास्थ्यसँगै राष्ट्रका लागि समेत योगदान दिने र देशको खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याउने बताए । खेलाडी उत्पादनमा समेत टेवा पुग्ने हुनाले प्रतियोगितामा सहभागी हुन र खेलको अवलोकन गरी सहयोग गर्न उनले अपील गरे ।
प्रतियोगितामा कराँतेको ४ वटै विधामा खेल हुने आयोजकले जनाएका छन । उक्त कार्यक्रमको लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको नेपाल कराँते महासंघ जिल्ला अध्यक्ष सन्तोष सिंहले बताए । उनले कराँते प्रतोयोगिता यस क्षेत्रमै सबैभन्दा गर्विलो इतिहास भएकोले सबैको सहभागीता जरुरी रहेको उल्लेख गरे ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, सितेरियो करांते संघका केन्द्रिय सदस्य प्रेम राना, रेफ्री संयोजक कृष्ण देवकोटा, सितेरियो कराँते दो संघ रुपन्देहीका अध्यक्ष नारायण थापा, विष्णु श्रेष्ठ पासा, संजय कुमार चौधरी, दिलु राना लगायतले बोल्दै कराँतेको गरिमा नेपालले धेरै प्रतियोगितामा देखाएको हुनाले खेलाडीको उत्कृष्ट प्रस्तुतिका लागि सबैको हौसला हुनुपर्ने बताए ।
प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहको प्रतियोगिता हुने आयोजकले जनाएका छन् । विभिन्न ४ उमेर विधामा हुने प्रतियोगितामा जुनियरतर्फ १० वर्ष उमेर समूह, १० देखि १२ वर्ष उमेर समूह १२ देखि १६ वर्षसम्मका उमेर समूह र सिनियरतर्फ १८ वर्षमाथिको कराँते प्रतियोगिता हुने आयोजकले जनाएका छन् । आयोजकले २ दिनमा सबै उमेर समूहका ६२ विधामा खेल खेलाइने समेत बताएको छ । कार्यक्रमको सञ्चालन मधु पाण्डेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij