२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुका लागि दुर्घटना बीमा गर्ने

शुक्रवार , बैशाख २६, २०८२

कास्की, २६ वैशाख । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आफ्ना सदस्यहरुका लागि दुर्घटना बीमा गर्ने भएको छ । कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा सम्पन्न महासंघको जिल्ला कार्यसमिति बैठकले सदस्यहरुलाई सहभागीतामा आधारित बीमा कार्यक्रममा समावेश गराउने निर्णय गरिएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकारहरुको पेशागत सुरक्षा तथा दुर्घटनामा हुने क्षति न्यूनीकरणका लागि सदस्यहरुलाई बीमा कार्यक्रममा सहभागी गराउने निर्णय गरेको हो । 

सो अवसरमा बोल्दै महासंघ रुपन्देहीका सल्लाहकार तथा निवर्तमान अध्यक्षसमेत रहेका पोखरेलले पत्रकारहरुको पेशागत सुरक्षा तथा उनीहरुको क्षमता विकासका कार्यक्रमलाई थप बढाउँदै जानुपर्ने सुझाव दिए । 
त्यसै गरी महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार यानेन्द्र जि.सी., पूर्वअध्यक्ष तथा सल्लाहकार शेर बहादुर केसी, सल्लाहकार हरिश ढकाल लगायतले बोल्दै पत्रकारहरुको पेशागत सुरक्षा मात्र नभइ उनीहरुको स्वास्थ्य सुरक्षाका लागि पनि बीमा कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । 

आर्थिक अभावका कारण कुनै पनि दुर्घटनाको समयमा उपचार नपाउने स्थितिको अन्त्य गर्न बीमा कार्यक्रम प्रभावकारी हुने उनीहरुले विश्वास व्यक्त गरे । त्यसै गरी महासंघ रुपन्देहीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउँदै उनीहरुले थप क्रियाशिल भएर लाग्न आग्रह समेत गरे ।

महासंघ रुपन्देहीले सञ्चार गृह र संघ–संस्थाहरुबीच फुटसल प्रतियोगिता, पत्रकारहरुका लागि लेखनवृत्ति तालिम, मिडिया मन्थको आयोजना तथा नलेज सिरिजको शुभारम्भसँगै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएर भ्रमण कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा पत्रकार महासंघ म्याग्दी, पर्वत तथा बागलुङ शाखामा पुगेर घेटघाट गर्नुका साथै पत्रकारहरुको पेशागत अवस्था र महासंघका भावी योजनाहरुको बारेमा छलफल गरेको थियो । 

भेटघाटका क्रममा महासंघ जिल्ला शाखाहरुले गरेका सिर्जनात्मक कामहरुको बारेमा जानकारी लिनुका साथै पत्रकारहरुको पेशागत अवस्थाका बारेमा छलफल गरिएको सचिव सी.पी. खनालले जानकारी दिए । 
महासंघ रुपन्देहीका सह–सचिव तथा अतिरिक्त क्रियाकलाप संयोजक सुमन रश्मी श्रेष्ठको संयोजनमा भएको चारदिने भ्रमण कार्यक्रमको अवसरमा घान्द्रुकमा पुगेर बैठक बसी महत्वपूर्ण निर्णय गरिएको हो । 
बैठकका निर्णय कार्यन्वयनका लागि थप अध्ययन गरी रुपन्देहीका सबै पत्रकारहरु र महासंघको बराबर आर्थिक सहभागीतामा बीमा कार्यक्रमलाई अगाडि बढाइने सह–सचिव श्रेष्ठले जानकारी दिए ।