२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संविधान ल्याए भन्नेहरुले यो संविधानको उल्लघंन गरिरहेका छन : राजेन्द्र लिङ्देन

शनिवार , बैशाख २७, २०८२

भैरहवा, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ल्याए भन्नेहरुले नै यो संविधानको उल्लघंन गरिरहेको आरोप लगाएका छन् । उनले आफूहरु यो संविधानमा असहमत र विमत्ति राखेको भए पनि संविधानको पालना गरिरहेको दावी गरे ।

राप्रपा सिद्धार्थनगर नगर समितिको नगर अधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले यो संविधानमा राजसंस्था, हिन्दूराष्ट्र चाहिन्छ र संघीयता चाहिदैन भनेर भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । ‘अहिले उनीहरु यो संविधानलाई उनीहरुले आफूखुसी व्याख्या गरेर त्यस्तो भन्न पाइँदैन र त्यस्तो भन्यो भने संविधानविपरीत हुन्छ भनेर हाम्रा साथीहरुलाई थुनामा राखिरहेका छन्’उनले भने–‘अरु पनि मानिसहरुको लिस्ट बनाएर यो सरकार प्रतिशोध साध्न तयार भएर बसिरहेको छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले आफ्नो विचार राखेको कारण राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने बताए । उनले यो सरकार संविधानविपरीत आफ्नो भ्रष्टाचार र सत्ता स्वार्थका लागि अग्रसर भएको र यसले जे पनि गर्ने दावी गरे । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले पूर्जी पठाउन नपाउँदै राती ओछ्यानमा गएर तपाईको अन्तिम इच्छा के छ भनेर सोधिएको बताए । विपक्षीहरुको आवाज थुनेर विकासको नाममा सरकारले भ्रष्टाचार गरिरहेको उनको भनाइ छ ।

भैरहवा विमानस्थलका लागि ३–४ सय विगाह जग्गा चाहिनेमा ८ सय विगाहा जग्गा किन खरिद गरियो भन्दै उनले प्रश्न गरे । अध्यक्ष लिङ्देनले नेपाली जनताको रगत पसिनाबाट उठेको करबाट बनाइएको एअरपोर्टको हालत यही हो भन्दै उनले प्रश्न गरे । ‘नेपालमा भ्रष्टाचार गर्नका लागि योजना बनाइन्छ, एअरपोर्ट बनाइन्छ, कमिसन खानका लागि प्लेन किनिन्छ’उनले भने–‘आज देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ । एकपटक बलियो धक्का दिने बेला भएको छ ।’

अध्यक्ष लिङ्देनले नेता सुध्रिए देश सुध्रिन समय नलाग्ने र राप्रपा नेता सुधार्ने अभियानमा लागेको बताए । उनले उपनिर्वाचन जहिले भए पनि आजैदेखि लाग्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । को उम्मेदवार बन्ने भन्नेबारे पार्टीले निर्वाचनको बेला उपयुक्त निर्णय गर्ने उनले बताए । ‘यो स्वर्गीय दीपक बोहराको सपनासँग गासिएको विषय हो’उनले भने–‘उहाँको आत्मालाई सच्चा श्रद्धाञ्जली दिन एकताबद्ध भएर आजैदेखि लाग्नुस्।’

त्यस्तै पार्टीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले मुलुकमा राजसंस्था र हिन्दूराष्ट्र आउने दावी गरे । राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले अहिले मुलुक अत्यन्तै कठिन परिस्थितिमा रहेको बताए । पार्टीको सहायक महामन्त्री ताहिर अलीले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राप्रपाले जित्नुपर्ने बताए । 

राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणाले देशको आर्थिक अवस्था कमजोर रहेको बताए । जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले गुट-उपगुटमा नअल्झिन आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमालले राष्ट्रियता र जनताको सवालमा पार्टी भन्दा माथि उठेर साथ दिने बताए । राप्रपा जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले फुटेर नभइ जुटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

राप्रपा सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षता, नगर उपाध्यक्ष तारा गुरुङको स्वागत तथा सचिव प्रकाश ढाढीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।