
बिहिवार , चैत्र १२, २०७७
बुटवल, १२ चैत ।
नयाँ वर्षको सुरुवातसंगै विश्व हिन्दु महासंघ नेपालले आगामी वैशाख ८ गतेबाट राष्ट्रिय जनगणना–२०७८ जनचेतनाका लागि मेची–महाकाली हिन्दु जागरण अभियान सुरु गर्ने जनाएको छ । विभिन्न अभियान र आन्दोलनमार्फत नेपालमा हिन्दु राष्ट्र स्थापनाका लागि अन्तिम र शक्तिशाली धक्का दिइने महासंघले जनाएको छ ।
महासंघका अनुसार रामनवमीको दिनबाट सुरु गरिने मेची–महाकाली हिन्दु जागरण अभियान अन्तर्गत नेपालमा सनातन हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सशक्त प्रदर्शन गर्ने, जनचेतना जगाउने, प्रचारप्रसार गर्ने र हिन्दुहरुको एकता कायम गर्ने उद्देश्यले जागरण अभियान संचालन गरिएको हो ।
यसै क्रममा बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा सनातन हिन्दु राष्ट्र पुनःस्थापनाका लागि देशव्यापी रुपमा सशक्त र शान्तिपूर्ण आन्दोलनको आवश्यक्ता रहेको बताएका छन् । सनातन हिन्दु राष्ट्र घोषणा गर्न सरकार र राजनैतिक दलहरुलाई दवाव दिने उद्देश्यले पुर्व मेचीदेखि महाकालीसम्म सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनीहरुले विश्वकै प्राचिन एंव वैज्ञानिक भाषा संस्कृतलाई आगामी शैक्षिक सत्र देखि नै विद्यालयको पाठ्यक्रममा अनिवार्य विषयका रुपमा समावेश गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले हिन्दु ॐकार परिवार र सबै नेपालीहरुलाई हिन्दु राष्ट्र बचाउन र पुनः हिन्दु राष्ट्र घोषणा गर्नका लागि सबैको पहल आवश्यक भएकाले जागरण अभियान संचालन गर्न लागेको बताए । अर्का वरिष्ठ उपाध्यक्ष बेनबहादुर पौडेलले देशमा हराउँदै गएको नैतिकता, इमानदारीता, अनुशासन र कर्तव्य कर्मबोधलाई बलियो बनाउन विश्व विद्यालयका पाठ्यक्रममा श्रीमद्भगवद्गीतालाई समावेश गर्न दवाव समेत दिने खालको जागरण आवश्यक्ता औंल्याए ।
विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष दधिराम शर्मा बस्याल, केन्द्रिय सदस्य दिपक थापा, डा. बाब्ुराम ज्ञवाली, महिला समितिका अम्बिका पौडेल, कार्यालय सचिव उर्मिला श्रेष्ठ लगायतले बोल्दै हिन्दु राष्ट्र बचाउनका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने बताएका थिए ।
समाजमा विद्यमान विभेद र जातीय छुवाछुत अन्त्य गर्नका लागि समेत सबै हिन्दुहरु एक हुनुपर्ने कुरा समेत सो अवशरमा जोड दिइएको थियो । विश्व हिन्दु महासंघ २०३७ सालमा सबै ॐकार परिवारहरुको छाता संगठनका रुपमा स्थापित भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij