२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपा रुपन्देहीका उपाध्यक्ष गुप्तासहित तीनजनाद्वारा पार्टी परित्याग

मंगलवार , बैशाख ३०, २०८२

भैरहवा, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्तासहित तीनजनाले पार्टी परित्याग गरेका छन् । मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।

त्यस्तै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हालका कार्यबाहक अध्यक्ष डा. अमित चर्तुवेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकार तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी विनिता गुप्ताले पनि पार्टी परित्याग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले यथास्थितिवादीमा पार्टी चलेको बताए । उनले पछिल्लो समय राजनीतिक पार्टीहरुप्रति जनताको विश्वास घटेको अवस्थामा पनि नेतृत्व वर्गले जनताको गुनासो बुझ्न नसकेको बताए । राजनीतिक दलमा युवाहरुलाई उचित स्थान नदिइएको उनको गुनासो छ ।

‘८ वर्षसम्म राप्रपामा रहेर काम गरेको हुँ, तर, अब पार्टीमा रहेर काम गर्न सक्ने अवस्था छैन, जहाँ सम्मान हुँदैन, त्यहाँ बस्नुको औचित्य हुँदैन । अबदेखि स्वतन्त्र रुपमा जनताको सेवा गर्छु, ’गुप्ताले भने । तत्काल कुनै पार्टी जाने निर्णय नगरेको उनले स्पष्ट पारे । 

गुप्ता सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् । उनी लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको अध्यक्ष, नेपाल–भारत अवध मैत्री समाजको अध्यक्ष, श्री दुर्गा सामूदायिक सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ४ र ५ को अध्यक्ष, काशी नोबल एकेडेमी सञ्चालक समितिको उपाध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा छन् ।