२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

७ दिने नेतृत्व विकास तालिम सम्पन्न

मंगलवार , बैशाख ३०, २०८२

तिलोत्तमा, ३० वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ७ दिने नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सम्पन्न भएको छ । महिला नेतृत्व मञ्चले आयोजना गरेको उक्त तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरभित्रका महिला दिदीबहिनीको सशक्तिकरणका .लागि यस्ता तालिम सहयोगी हुने बताए । उनले नगरपालिकाले वडासँग समन्वय गरी विभिन्न संघ–संस्थासंग मिलेर नेतृत्व विकासका कार्यक्रम गरिरहने जनाए । ‘हामीले महिलाको क्षमता विकास गर्न सके घर, समाज र राष्ट्रको विकास हुन्छ, ’उनले भने–‘त्यसैले यस विषयमा नगरपालिकाले सीप विकाससँगै बोल्ने कलालाई पनि प्राथमिकतामा राखेको छ।’

त्यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेलले वडामा अधिकांश महिलालाई यस तालिमले लाभ प्रदान गरेको भन्दै संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले वडामा रहेका विभिन्न आमा समूका महिला दिदीबहिनीलाई अघि बढाउन सके वडामा हुने कार्यक्रममा बाहिरका मानिस बोलाएर बोल्न लगाउनुपर्ने झन्झट हट्ने, महिलाका लागि थुप्रै कार्यक्रम ल्याउन सकिने र आमा समूहमा सिकेकाले अन्यलाई सिकाउन सक्ने बताए ।

तालिममा ७ दिनसम्म सिक्न पाउँदा खुसी लागेको र यसअघि आफूहरु माइक्रोफोन समात्न समेत नसक्ने तर, अहिले पोक्त भएको महसुस गरेको प्रशिक्षार्थीले अनुभव साटे । महिला नेतृत्व मञ्चकी अध्यक्ष बाला कुमारी घिमिरेले संस्था नहुँदाका दिनमा पनि आफूले महिला दिदीबहिनीका लागि आवाज उठाएर अघि बढाउन सकिने कार्यक्रम गरेको सम्झंदै संस्थागत रुपमा जाँदा केही थप जिम्मेवारी र धेरै महिलालाई समेट्न सकिने अनुभव बटुलेको बताइन् । उनले आफूहरुले गरेका हरेक तालिम र कार्यक्रमबाट महिलाहरुले लाभ पाइरहेकाले यस्ता कार्यक्रम गर्न आफुहरु लागिरहने बताइन् । कार्यक्रम संस्थाकी सचिव कोपिला काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।