
मंगलवार , बैशाख ३०, २०८२
भैरहवा, ३० वैशाख । मानव बेचबिखन न्यूनीकरणका लागि यातायात व्यवसायीहरुबीच समन्वयात्मक भूमिका हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय बेलहिया रुपन्देहीले बुटवलमा यातायात व्यवसायीहरुसँग गरेको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अन्तक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सभ्य समाजका लागि चुनौती बन्दै गएको मानव बेचबिखन लगायतका घटना न्यूनीकरणका लागि सहकार्य नै विशेष उपाय हुन सक्ने सुझाव दिए । नेपालको सीमा नाकाबाट भारत लगायत तेस्रो मुलुकमा जाने मानिसहरु बेचबिखनको उच्च जोखिममा हुने भएकोले बुटवलका यातायात व्यवसायीहरुले कडाईका साथ चेकजाँच गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले नेपाल–भारत मैत्री यातायातबाट भारत जाने यात्रुहरुको वास्तविक पहिचान गरी मात्र जान दिने बताउँदै शंका लागेमा गृहसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीहरुले नेपाल–भारत मैत्री बसहरुमा पटकपटक चेकजाँच हुँदा कतिपय यात्रूहरुले चेकिङको नाममा सास्ती भोग्नुपरेको गुनासो समेत गरेका । एकपटक चेक गरिसकेको गाडीलाई पुनः चेक नगर्न उनीहरुको माग छ ।
कार्यक्रममा शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय बेलहिया रुपन्देहीका कार्यक्रम सुपर भाइजर नितेश कुमार चौधरीले गृहले आर्थिक वर्ष २०८१/८२ को वैशाख २७ गतेसम्ममा रुपन्देहीबाट २ सय जना भन्दा बढी महिला तथा बालबालिकाको उद्वार गरेकोे जानकारी दिए । उनले सीमा नाकामा ६ हजार भन्दा बढीलाई परामर्श सेवा प्रदान गरिएको बताए । आ.व.२०८१/०८२ मा बुटवलबाट भारतको दिल्ली, पन्जाब, चण्डीगढ जाने बसहरुबाट ८० जनाको उद्वार गरिएको उनले जानकारी दिए । उनका अनुसार १ हजार ७ सय जनालाई परार्मश प्रदान गरिएको छ ।
चौधरीले चालु आ.व. मा १ जनालाई भारतबाट समेत उद्वार गरिएको बताए । उनले नेपालको यातायात प्रयोग गरी भारत जाने शंकाष्पद व्यक्तिहरुलाई मानव बेचबिखनको जोखिमबाट बचाउन यातायात व्यवसायीहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका भएकोले सहकार्य गरी काम गर्न समेत आग्रह गरे ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदिप कुमार श्रेष्ठले गरीबी, अशिक्षा, बढ्दो महत्वकांक्षाका कारण पनि मानव बेचबिखनका घटनाहरु बढ्दै गएको बताए । उनले भारतसम्म लैजाने यातायात व्यवसायीहरुलाई पनि यात्रुसँग पर्याप्त मात्रामा प्रमाणहरु भए/नभएको चेकजाँच गर्ने पूर्ण अधिकार भएकोले नडराई चेकजाँच गर्नुपर्नेमा जोड दिए । वडाअध्यक्ष श्रेष्ठले मानव बेचबिखन रोक्न स्थानीय तह, प्रहरी, विभिन्न सरोकारवाला निकाय पनि सक्रिय रुपमा लागे मात्र केही हदसम्म मानव बेचबिखनका घटनाहरुमा कमी ल्याउन सकिने बताए ।
शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्वार संयोजक भुमिराज भट्टराईले यातायात व्यवसायी संघले मानव बेचबिखनविरुद्धमा रहेर शान्ति पुर्नस्थापना गृहसँग सहकार्य गरी काम गर्दै आएको बताए । उनले नेपाल–भारत मैत्री यातायातबाट भारत जाने यात्रुहरुको वास्तविक पहिचान गरी मात्र जान दिने बताउँदै शंका लागेमा गृहसँग समन्वय गर्न आग्रह गरे । उनले पछिल्लो समय मानव बेचबिखनको स्वरुप नै परिर्वतन भएकोले चेकजाँचमा चनाखो हुनुपर्ने उल्लेख गरे । उनले कतिपय महिला तथा बालबालिका आफन्तबाट नै भारतमा गएर बेचबिखनमा परेकोले मानव बेचबिखन न्यूनीकरण गर्न यातायात व्यवसायीहरुको पनि उत्तिकै भुमिका भएकोले आगामी दिनमा पनि यस्तै सहकार्यका अपेक्षासहित यातायात व्यवसायीहरुसँग छलफल गरिएको बताए ।
शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्वार संयोजक भुमिराज भट्टराईको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गृहको परार्मशदाता सलिना खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बुटवलको प्रमुख प्रतिक्षा कुवरले मानव बेचबिखनको अवस्था, कानूनी सजाय दण्ड, जरिवाना लगायतको विषयमा जानकारी गराएकी थिइन् । गृहको रुपन्देही जिल्ला सुपरभाइजर सम्झना चदराको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij