
बिहिवार , चैत्र १२, २०७७
भैरहवा, १२ चैत ।
आगलागि पीडित विद्यार्थीलाई शिक्षक, कर्मचारी र विद्यार्थीहरुले सहयोग गरेका छन । रुपन्देही लिालराम न्यौपाने मा.वि.मा अध्ययनरत कक्षा ११ का लक्ष्मी मुखियाको घरमा आगलागि भई घरसहित सबै वस्तु नष्ट हँुदा विद्यार्थीहरुले स्वतःस्फुर्त रुपमा रकम संकलन गरी सहयोग गरेका हुन ।
घरमा कोही नभएको बेला विद्युत सर्ट भई सोमबार आगालागि भएको थियो । आगलागि पश्चात विद्यालयमा साप्ताहिक विदा माग्न पुगेका मुखियाले साथीहरुलाई समस्या जानकारी गराएपछि साथीहरुले स्वतःस्फुर्त रुपमा रकम संकलन गरेका थिए ।
साथी समस्यामा परेर विद्यार्थीहरुले रकम संकलन गरेको जानकारी विद्यालय प्रशासनलाई आएसँगै शिक्षक र कर्मचारी पनि संकलन कार्यमा सहभागी हुनुपर्छ भनेर उनीहरुलाई साथ दिएका थिए ।
करिब ८ सय ५० जना अध्ययनरत बिहानी समूहका विद्यार्थीहरुबाट २८ हजार ८ सय ६९ रुपैयाँ र कार्यरत शिक्षक र कर्मचारीबाट १८ हजार ९ सय ३० रुपैयाँ गरी कुल ४७ हजार ७ सय ९९ रुपैयाँ रकम संकलन भई सहयोग गरिएको छ ।
संकलित रकम पीडित मुखिया र परिवारलाई विद्यालयका प्राचार्य गणेश भट्टराईले हस्तान्तरण गरेका हुन । समस्याको बेला केही सहयोग होस् भन्ने अभिप्रायले स्वतःस्फुर्त आ–आफनो इच्छा अनुसार सबैले रकम संकलन गरेका थिए ।
रकम हस्तान्तरण गर्दै प्राचार्यले समस्या जो कोहीलाई जति बेला पनि पर्न सक्छ, एक अर्काको सहयोग सबै जुट्नुपर्ने बताए । विद्यार्थीहरुको अगुवाइमा भएको रकम संकलन गर्ने कार्य सराहनिय र उदाहरणीय भएको छ । ‘विद्यालयको कुनै पनि सदस्य समस्यामा पर्दा हामी छौ भन्ने उदाहरण यो कार्यबाट पेश भएको छ, ’प्राचार्य भट्टराईले भने ।
सहयोग रकम लिदै अभिभावक मुखियाले उक्त रकम पहिला छोराछोरीको शैक्षिक सामाग्री किताब कापी पोशाक लगायतमा खर्च गर्ने बताए । आफूले रिक्सा चलाए पनि प्राथमिकता छोराछोरीको शिक्षा नै हो त्यसैले पहिला त्यो पुरा गरेर मात्र अन्य काम गर्ने उनले बताए ।
सोमबार बिहान मुखियाका बुवा जोगेन्द्र रिक्सा चलाउन गएका थिए, उनी पढ्न विद्यालय आएपछि घरमा विद्युत सर्ट भई आगलगि भएको थियो । घरमा कोही नभएको बेला आगलागि भएर घरभित्र रहेको सबै वस्तु जलेर नष्ट भयो, टिनको छाना रहेको उक्त घर पनि नष्ट भएको छ । ‘अहिले जसोतसो बाहिर सुत्ने गरेका छौ, ’अभिभावक मुखियाले भने ।
सिद्धार्थनगर वडा नम्बर १३ मा बस्दै आएका मुखियाको ५ जनाको परिवार छ, सोमबार आगो लागेर सबै नष्ट भए पनि अहिलेसम्म कसैले सहयोग गरेको छैन, स्थानीय सरकारलाई अवगत गराए पनि कुनै सहयोग नआएको परिवारको भनाइ छ । ‘बच्चाहरुको सबै कपडा, ल्यापटप, किताब कापी जलेर गयो टिनले छाएको घर पनि सबै पूर्ण रुपले नष्ट भएको छ, फेरी बनाउनुपर्छ ५ लाख बढीको सामान जल्यो, ’मुखियाले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij