२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा हुण्डी कारोबार गरेको आरोपमा तीनजना पक्राउ

बिहिवार , जेठ २, २०८२

भैरहवा, १ जेठ । रुपन्देही प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ का ३८ वर्षिय दिनेश बनिया, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का ४६ वर्षिय मसिउद्दिन फकिर र भारतको नौतनवाका ५० वर्षिय कृष्ण अग्रहरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दिनेश बनियालाई सिद्धार्थनगर नगरपालिका–५ स्थित बैंकरोडबाट पक्राउ गरेको बताए । डीएसपी कार्कीका अनुसार गोप्य सूचनाको आधारमा बैंकरोडमा लु ६८ प ४७९ नम्बरको मोटरसाइकल रोकेर शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बनियाको साथबाट १३ लाख ८५ हजार रुपैयाँसहित उनलाई पक्राउ गरिएको हो ।

त्यस्तै बिहीबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१२ बाट मसिउद्दिन फकिरलाई पक्राउ गरेको हो । हुण्डीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा फकिरलाई रोकी खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा ३ लाख ८६ हजार २ सय रुपैयाँ र एकथान मोबाइलसहित पक्राउ गरिएको डीएसपी कार्कीले बताए । 

त्यसै गरी बिहीबार नै सिद्धार्थनगर–१२ बाटै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले कृष्ण अग्रहरीलाई पक्राउ गरेको हो । हुण्डी कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा युपी ५६ जे १६५३ नम्बरको मोटरसाईकल शंका लागि चेकजाँच गर्ने क्रममा र अग्रहरीको शरीर र उनले बोकेको झोला खानतलासी गर्दा अग्रहरीको साथबाट ८ लाख ३९ हजार ४ सय ५० र एकथान मोबाइलसहित पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए ।

पक्राउ गरिएका तीनैजनालाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट हुण्डी सम्बन्धि कारोबार गर्न नहुने कसूरमा ७ दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।