
शनिवार , जेठ ४, २०८२
भैरहवा, ३ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकास्तरीय तेस्रो वडा कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा ओमसतिया वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १२ ओभरको खेलमा ९२ रन मात्र बनाउन सकेको थियो । वडा नम्बर २ का लागि बादल छन्त्यालले सर्वाधिक २२ रन बनाउँदा अजय यादवले ११ रन र विकास यादवले १० रन जोडे । बलिङमा वडा नम्बर ६ का शेखर चौधरीले ४ विकेट, नितेश वरुण र किशोर यादवले समान २/२ विकेट लिए ।
९३ रनको लक्ष्यसहित मैदानमा प्रवेश गरेको वडा नम्बर ६ ले ९ ओभरमै ५ विकेटको क्षतिमा जीत हासिल गरेको थियो । वडा नम्बर ६ का लागि रवि यादवले सर्वाधिक ४४ रन बनाए । कृष्ण पासीले १७ रन बनाए ।
बलिङमा वडा नम्बर २ का अभिषेकले २ विकेट लिए ।
त्यसै गरी शुक्रबार नै सम्पन्न दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ५८ रनले हराएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको वडा नम्बर ३ ले १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्य पाएको वडा नम्बर १ भने ६५ रनमै अलआउट भएको खेल संयोजक मनोज यादवले जानकारी दिए ।
शुक्रबार नै सम्पन्न तेस्रो खेलमा भने वर्षा बाधक बन्दा वडा नम्बर ४ र वडा नम्बर ५ ले समान एक÷एक अंक बाडेका छन् । टस जितेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ११५ रन बनाउदा अर्को टीम खेल्न नपाउँदै पानी परेकोले अंक बाडिएको संयोजक यादवले जानकारी दिए ।
ओमसतिया गाउँपालिकाका ६ वटा वडाबाट एक/एक टीम र पालिकाको कर्मचारीको २ टीम गरी जम्मा ८ टीम सहभागी प्रतियोगितामा २ समूहमा विभाजित गरिएको यादवले बताए । दुवै समूहको शिर्ष २ टोली सेमीफाइनलको लागि प्रवेश गर्नेछ । ओमतियाको कर्मडाँडा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुनेछ । विजेता टोलीले ६० हजार नगदसँगै कप र उपविजेताले ३० हजार र कप प्राप्त गर्नेछ । अनुशासित टोलीले १० हजार, मेन अफ द सिरिज ५ हजार र शिल्ड, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही २ हजार ५ सय रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
यसअघि क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै ओमतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले पालिकाका युवाहरुलाई खेलकुदमा रुची जगाउन, दुव्र्यसनबाट जोगाउन र क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको बताए । उनले ओमसतिया गाउँपालिकाबाट शक्ति गौचन लगायत अन्तर्राष्ट्रियस्तरकै खेलाडीहरु उत्पादन भएको हुँदा पालिका क्रिकेट खेलको उर्वरभूमिको रुपमा रहेको बताए । पालिकामा खेलमैदानको अभाव भएको हुदा भविष्यमा खेल मैदानको पहिचान गरी त्यसलाई विकास गर्ने र भएको खेलमैदानहरुको स्तरोन्नति गर्न पालिका प्रतिबद्ध रहेको बताए ।
उद्घाटन कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल, २ का वडाअध्यक्ष शितल जिटी, ३ का अध्यक्ष विजय सिंह चौधरी, ५ का अध्यक्ष मदन प्रसाद पोखरेल, ६ का अध्यक्ष शिव कुमार धवल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij