२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जेठ ४ देखि भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता

शनिवार , जेठ ४, २०८२

भैरहवा, ३ जेठ । रुपन्देही क्षेत्र नम्बर ३ (१) अन्तरगत प्रथम माननीय कप क्रिकेट प्रतियोगिता जेठ ४ गते आइतबारदेखि सुरु हँुदैछ । क्षेत्र अन्तरगत रहेका १८ वटा वडा, कर्मचारी र सञ्चारकर्मी गरि २० वटा टीमबीच प्रतियोगिता आयोजना हुने आयोजकले जनाएका छन । 

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले टेनिस बलले १० ओभरको खेल खेलाइने बताए । 
रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको विशेष पहलमा युवाहरुबीच सकारात्मक सोच विकास गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको बताए । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेता टीमले नगद रु. ५१ हजार र उपविजेताले रु. २५ हजार र ट्रफी पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए । 

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले खेलाडी उत्पादनसँगै युवाहरुलाई दुव्र्यसनबाट जोगाउनका लागि प्रतियोगिताले सहयोग गर्ने बताए । उनले खेल पर्यटनबाट यो क्षेत्रको विकास गर्न सकिने सोचसहित प्रतियोगिताको आयोजना गरेको बताए । उनले प्रदेशको उपस्थिति देखाउनलाई भए पनि खेलको आयोजना गरिएको बताए । नेपालका खेलाडीहरुमाथि सरकारले कम लगानी गरे पनि यो क्षेत्रमा खेलाडी उत्पादन राम्रो रहेकोले यो प्रतियोगिताले अझै सहयोग गर्ने अपेक्षा रहेको उनले बताए । 

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रतियोगिता सफल पार्न संघले सबै किसिमका सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, जैनुद्दीन देवान लगायतले बोलेका थिए ।

प्रतियोगिता जेठ ४ देखि ८ गतेसम्म सञ्चालन हुनेछ ।