
सोमवार , जेठ ६, २०८२
बुटवल, ५ जेठ । जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देही र मदन आश्रित स्मृति अक्षयकोषको संयुक्त आयोजनामा मदन आश्रित स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
जेठ ३ गते बुटवलमा सम्पन्न विचार गोष्ठीमा स्मृतिमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज घिमिरेले मदन आश्रित : सकल्प, संघर्ष र सिकाई भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा मदन आश्रितको श्रद्धाञ्जली र संकल्प, पारिवारिक जीवन, अध्ययन र राजनीति, मदन-आश्रितको राजनीतिक यात्रा र संघर्षका विषयमा प्रस्तुत गरेका थिए । त्यस्तै यस कारण सम्झिन्छौ ः मदन आश्रितलाई भन्ने विषयमा प्रस्तुत गरिएको कार्यपत्रमा उहाँको हत्या की दुर्घटना भन्ने विषय समेत समेटिएको थियो ।
कार्यपत्रमाथि पार्टीका केन्द्रीय विभाग सदस्य तथा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य बलबहादुर आचार्यले टिप्पणी गरेका थिए । सम्बोधनका क्रममा पार्टीका पोलिटब्युरो सदस्य लिला गिरीले जेठ ३ केवल एउटा मिति नभएर नेपाली कम्युनिष्ट आन्दोलनको बलिदान, विचार, नवीन प्रयोग र भविष्यदृष्टिको प्रतीक भएको बताए । उनले पार्टी विभाजन, विचार विचलन र राजनीतिक अस्थिरताको सन्दर्भमा जबज अझ सान्दर्भिक भएको बताए ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले पार्टी जबज लोकप्रिय हुन्छ, तबतब विभिन्न देशी–विदेशी षडयन्त्रकारीहरु सक्रिय भई पार्टीकाविरुद्ध लाग्ने गरेको समेत बताए । राजनीतिको नाममा दम्भ र पदको नाममा सौदाबाजी नगरी सिद्धान्तमा इमानदारी, व्यवहारमा सादगी र नेतृत्वमा उत्तरदायित्वको अभ्यास गर्नु आजको आवश्यकता भएको उनले बताए ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले मदन आश्रितको विचारले आज सिंगो मुलुकको नेतृत्व गरेको बताउँदै प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको सैद्वान्तिक अबधारणाबाटै देशको मुहार फेरिने बताए ।
कार्यक्रममा अध्यक्षकोषकातर्फबाट १८ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने कोषको आजिवन सदस्य बनेका २७ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा मदन आश्रित स्मृति अक्षयकोषको १८ औं साधारणसभा समेत सम्पन्न गरिएको थियो । साधारणसभामा कोषका अध्यक्ष भरतराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषका कोषाध्यक्ष चन्द्रकान्त भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
एमाले रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीको स्वागत तथा पार्टीका जिल्ला सचिवालय सदस्य एवं कोषका सचिव बालकृष्ण पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij