२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वडा नम्बर ६ ले जित्यो ओमसतिया अध्यक्ष कप क्रिकेटको उपाधि

बिहिवार , जेठ ९, २०८२

भैरहवा, ८ जेठ । ओमसतिया गाउँपालिकास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि वडा नम्बर ६ ले जितेको छ । बुधबार पडसरीको केवटलिया कर्मडाडा स्थत क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ४ विकेटले पराजित गर्दै वडा नम्बर ६ ले अध्यक्ष कप क्रिकेटको उपाधि चुमेको हो । वडा नम्बर ६ ले जीतसँगै नगद ६० हजार रुपैयाँ र ट्रफी समेत प्राप्त गरेको छ । 

यसअघिको अध्यक्ष कपको दोस्रो संस्करणको विजेता समेत रहेको वडा नम्बर ६ ले उपाधि रक्षा गर्न सफल भएको छ । उपविजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । गत वर्षको फाइनलमा पनि वडा नम्बर ६ ले वडा नम्बर २ लाई पराजित गरेको थियो ।जीतका लागि पाएको ११६ रनको लक्ष्य वडा नम्बर ६ ले १२ दशमलब २ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो । वडा नम्बर ६ को जीतमा रवि यादव र अनिल यादवले समान २६/२६ रन बनाए भने सुरज गुप्ताले १८, सुनिल हरिजन र किशोर यादवले समान १३/१३ तथा कृष्ण पासीले १२ रन बनाएका थिए । 

बलिङमा वडा नम्बर २ का अभिषेक, सन्तोष ओलीले २÷२ तथा बसन्त र अजय यादवले १/१ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको वडा नम्बर २ ले निर्धारित १५ ओभरको खेलमा १३ दशमलब १ ओभरमा सवै विकेट गुमाई ११५ रन बनाएको थियो । वडा नम्बर २ का लागि बबि छन्त्यालले आकर्षक ईनिंग खेल्दै ५ चौका र ३ छक्काको मद्दतले २६ बलमा ४८ रन बनाएका थिए । तर त्यो जीतका लागि पर्याप्त भएन ।
त्यसै गरी सुमितले २०, आदर्शले १४ तथा सन्तोष ओलीले ११ बाहेक अन्य खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन् । बलिङमा वडा नम्बर ६ का नितेश बरुणले ६ विकेट लिए ।

प्रतियोगितामा वडा नम्बर ३ का रुपेश यादव म्यान अफ द सिरिज घोषित हुदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने उत्कृष्ट ब्याटसम्यानको उपाधि वडा नम्बर ३ कै रूपेश यादवले पाए । उनले २ हजार ५ सय रुपैयाँ र ट्रफी पाए भने उत्कृष्ट बलरको उपाधि वडा नम्बर ६ का नितेश बरुण घोषित हुँदै २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे । त्यसै गरी अनुशासित टीमबाट ओमसतिया गाउँपालिका ए टीम १० हजार रुपैयाँबाट पुरस्कृत भयो ।

विजेता तथा उपविजेता टीम र उत्कृष्ट खेलाडीहरूलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु), उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, लेखा शाखा प्रमुख कमल शर्मा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सितल जिटी, ६ का अध्यक्ष शिव कुमार धवल लगायतले नगद पुरस्कार, ट्रफी, पदक, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता ओमसतिया गाउँपालिकाको आयोजनामा सञ्चालन भएको हो ।