
बिहिवार , जेठ ९, २०८२
भैरहवा, ८ जेठ । रुपन्देहीको भैरहवामा लिला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता–२०८२ हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना, रुपन्देही क्रिकेट संघको संयोजन तथा लिला सेन्चुरी मेमोरियलको प्रमुख प्रायोजनमा जेठ ९ गते शुक्रबार (भोली) देखि प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा रुपन्देही सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तथा समाजसेवी राम किसन विश्वकर्माले आफ्नो श्रीमती स्वर्गीय लिला सेन्चुरीको स्मृतिमा प्रमुख प्रायोजन गरेका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा ७ जिल्लाबाट टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक प्रथम पराजुलीले बताए । उनका अनुसार प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दिया सहभागी हुनेछन् ।
जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब रु. ७ लाख खर्च हुने पराजुलीले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १ हजारका साथै प्रमाणपत्र तथा प्रथम र द्वितीय हुने टीमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताए । ‘रुपन्देहीमा विभिन्न क्रिकेट प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न भएका छन्, लुम्बिनी प्रदेश क्रिकेट संघले पनि खेल सञ्चालन गर्न रुपन्देहीलाई रोजेको छ, ’उनले भने ।
लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनयराज भण्डारीले छनोट प्रतियोगिता भएकोले प्रथम र द्वितीय हुने टीमलाई नगद पुरस्कारको व्यवस्था नभएको बताए ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष राम किसन वि.क.ले यो क्षेत्रमा क्रिकेट लोकप्रिय खेलको रुपमा स्थापित भएको बताए । उनले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेर खेलाडीले नेपाललाई विश्वमै चिनाउन सफल भएको बताए । ‘क्रिकेट खेलको विकासमा केही भए पनि सहयोग गर्न सकिन्छ भनेर यो प्रतियोगिताको मुख्य प्रायोजन गरेका हौं, ’उनले भने ।
प्रत्येक खेल ३५–३५ ओभरको हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij