
शुक्रवार , जेठ १०, २०८२
भैरहवा, ९ जेठ । रुपन्देहीको भैरहवामा सम्पन्न प्रथम माननीय कप क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ ले जितेको छ । बिहीबार भैरहवामा सम्पन्न फाइनल खेलमा सिद्धार्थनगर–९ ले सिद्धार्थनगर–६ लाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो ।
सेमीफाइनल खेलमा सिद्धार्थनगर–६ ले सिद्धार्थनगर–१२ लाई र सिद्धार्थनगर–९ ले सिद्धार्थनगर–१ लाई हराउँदै फाइनल यात्रा तय गरेका थिए । फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिद्धार्थनगर–९ ले निर्धारित १० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । उसका लागि आरिफ खानले १६ बलको सामना गरी ६ छक्का र २ चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै समीर अली मुसलमानले २७ र सुनिल सहानीले १६ रन बनाए ।
बलिङमा सिद्धार्थनगर–६ का अमर प्रताप मिश्राले ३ र सलीम अलीले २ विकेट लिए । १ सय २२ रनको लक्ष्यसहित मैदान उत्रेको सिद्धार्थनगर–६ निर्धारित पुरै ओभर खेल्न सकेन । ९ दशमलव ४ ओभरमा अलआउट हुँदै उसले जम्मा ७६ रनमा सीमित बन्यो । उसका लागि भोला अग्रहरीले ३९ र सुरज गुरुङले ११ रन बनाउन बाहेक सिद्धार्थनगर–६ का अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा सिद्धार्थनगर–९ का रहमान अली र दीपक यादवले ३–३, तथा सुनिल जयसवाल र आरिफ खानले समान २–२ विकेट बाँडे । जीतसँगै सिद्धार्थनगर–९ ले नगद ५१ हजारसँगै ट्रफी हात पारेको छ । उपविजेता सिद्धार्थनगर–६ ले नगद २५ हजारसँगै ट्रफी हात पारेको छ ।
सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा रुपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतको प्रथम माननीय कप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको थियो । क्षेत्र अन्तर्गत रहेका १८ वटा वडा, जनप्रतिनिधि र सञ्चारकर्मी गरी २० वटा टीम प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले प्रदेशमा रहेका क्रिकेट खेलका प्रतिभावान खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सरकारी स्तरबाट दिइनुपर्ने बताए । उनले रुपन्देही क्रिकेट खेलको उर्वरभूमि रहेको पनि जनाए । आगामी वर्ष यो प्रतियोगितालाई लिगस्तरको बनाइने र अहिले १८ वटा टीम सहभागी रहेकोमा आगामी वर्ष ४० वटा टीम सहभागी बनाइने उनले जनाए ।
सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरिबहादुर बिष्टले युवामा खेलप्रति रुची जगाइ खेलको माध्यमबाट स्वस्थ राख्न यो प्रतियोगिताको आयोजना गरिएको बताए । यस खालको खेल प्रतियोगिताले खेलप्रति सिर्जनशीलता र जागरुकता पैदा भइ यस क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार पार्ने जग बनोस् भन्ने उद्देश्य प्रतियोगिताको रहेको उनले जनाए ।
समापनका अवसरमा पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पुर्याएको भन्दै लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, पूर्वअध्यक्ष दीपेश पछाई र संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्मालाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij