
शुक्रवार , चैत्र १३, २०७७
काठमाडौं, १३ चैत्र। आगामी २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठन बिच गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार ११ संगठनबीच भएको संयुक्त बैठकबाट नेपाल प्रेस युनियनको नेतृत्वमा गठबन्धन गर्ने र निर्वाचनमा जाने निर्णय भएको हो।
निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबिच सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत जनाउदै संगठनहरुले हस्ताक्षर गरेका छन्। यसअघि गठबन्धनका बारेमा गरिएका बिभिन्न अडकलबाजीको अन्त्य भएको छ।
गठबन्धनमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज लगाएत रहेका छन् ।
विज्ञप्तिमा मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका, (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी बिधियक लगाएत नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विधेयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको उत्थानका लागि कार्य अघि बढाउने प्रतिबद्धता समेत ११ संगठनको साझा विज्ञप्तिमा जनाएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij