
शनिवार , जेठ ११, २०८२
बुटवल, १० जेठ । मानव अधिकार तथा शान्ति समाजको सामाजिक न्यायदेखि वातावरणीय न्यायसम्म विषयक लुम्बिनी प्रदेशस्तरीय दुईदिवसीय अभिमुखीकरण कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसालाई मूल मन्त्र बनाएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सामाजिक न्याय र जलवायु न्याय सम्बन्धमा देशव्यापी अभियान सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्र बिना सुशासन र सामाजिक न्यायको प्रवद्र्धन हुन नसक्ने उल्लेख गर्दै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिबद्ध रहन शान्ति सामाजका सदस्यहरुलाई आग्रह गर्दै लोकतन्त्र नै नागरिक सर्वोच्चताको प्रतिबिम्ब र नागरिक स्वतन्त्रताको पर्याय भएको बताउनुभयो ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रेणुका पौडेल, पूर्व सभापति गोविन्द खनाल, महासचिव प्रकाश शाही, पूर्व वरिष्ठ उपसभापति कृष्ण रावल, सचिव डिपि खनाल, अनुशासन आयोगका सदस्य लालहरी पाण्डे, रुपन्देही सभापति अर्जुन ज्ञवाली, निवर्तमान सभापति कृष्ण भट्टराई लगायतले मुलुक कुशासनले ग्रसित भएमा लोकतान्त्रिक मूल्य मान्यता संकटमा पर्ने चर्चा गर्दै शान्ति समाजले मानव अधिकार संरक्षण र सुशासन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र केन्द्रबाट गरी ६५ जनाको सहभागीता थियो । यसैबीच शनिवार बुटवलमा वर्तमान राजनैतिक घटनाक्रम र समसामयिक बिषयमा राजनैतिक र नागरिक समाजबीच अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको सभापति अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij