
शनिवार , जेठ ११, २०८२
भैरहवा, १० जेठ । रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा रुपन्देहीको भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जीत हात पारेको छ । उसले पाल्पालाई १ सय ९१ रनले पारजित गर्दै जीत निकालेको हो ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ३६ रनको बलियो योगफल बनाएको थियो । उसका लागि रौनक श्रीवास्तवले ८८ बलको सामाना गर्दै १६ चौका र १ छक्काको मद्दतमा १ सय १० रनको शतकीय इनिङ खेले । त्यस्तै मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे । बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २ विकेट लिए ।
प्रतिउत्तरमा पाल्पा १० ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमै समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उपसन विक्रम जिसीले सर्वाधिक ८ रन बनाउँदा ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किए ।
बलिङमा कपिलवस्तुका मलिक गद्दीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, सुरज यादवले ३ तथा कमरान अहमद र रौनक श्रीवास्तवले समान १–१ विकेट लिए । खेलमा कपिलवस्तुका रौनक श्रीवास्तव प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी राम किसन विश्वकर्माले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।
प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij