
मंगलवार , जेठ १४, २०८२
भैरहवा, १३ जेठ । रुपन्देहीको भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा जीतका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई पूरा गर्यो र जीत निकाल्यो । रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले अविजित ७० रन बनाए । ३७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । यस्तै, आरिफ खानले २१ र सिद्धार्थ ढकालले ११ रन जोडे । बलिङमा कपिलवस्तुका सुरज यादवले २ र कमरन अहमदले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा २८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुरज यादवले ४६ र रौनक श्रीवास्तवले २३ रन बनाए । बलिङमा रुपन्देहीका प्रिन्स पालले ३, सोइब हसन मुसलमान र सुरज रानाभाटले २–२ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच भए ।
यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बर्दियाले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै जम्मा ९६ रन बनायो । उसका लागि केशव विष्टले १७ तथा हेमन्त आचार्य र निराजन थापाले समान १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।
बलिङमा बाँकेका निखिल धनकुट्टा र आषिश नाउले ३–३, भुवन शाहीले २ तथा निराजन चन्दले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको बाँकेले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर ९७ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा दियान्स वर्माले ४७ र निराजन चन्दले अविजित १२ रन जोडे । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३ तथा हेमन्त आचार्य, संयक जंग थापा र आयुष न्यौपानेले समान १–१ विकेट लिए ।
खेलमा बाँकेका निखिल धनकुट्टा प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij