२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा

बुधवार , जेठ १५, २०८२

भैरहवा, १४ जेठ । रुपन्देहीको भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ । यी दुई टीमबीच १६ गते उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।

बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रन बनाए । बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा शुभम खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुंवरले १६ र करण जीएमले १० रन बनाए । बलिङमा बाँकेका दिव्यान्स बर्माले ३ तथा निखिल धनकुट्टाले १ विकेट लिए । खेलमा दाङका शुभम खनाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।