
बिहिवार , जेठ १६, २०८२
भैरहवा, १५ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीको प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी. प्रहरी बर्दीमै बिहीवार वृद्धाश्रम पुगेपछि यहाँ रहेका वृद्ध आमाबुवामा खुसी ल्याएको छ । रूपन्देहीका सडकमा नियम उल्लंघन गर्नेहरूसँग कठोर निर्णय लिने अधिकारीका रूपमा परिचय बनाएकी के.सी.को मन बर्दीभित्र कठोर देखिए पनि व्यवहारमा करुणामैत्री रहेको उनी मातहतका प्रहरीहरू बताउँछन् ।
आफ्नो कर्तव्यप्रति सधै वफादार रहने प्रहरी निरीक्षक के.सी. आफ्ना कोही छैनन् भन्ने अनुभुति गदै बाँचिरहेका वृद्धवृद्धासँग एक असल छोरीको रुपमा भेट गर्न ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रम पुग्दा उनीमा करुणाभाव र कसिलो मानवताको जिम्मेवारी भरिएको देखिन्थ्यो ।
बिहीबार बिहानै कार्यालयसँगै मातहतका काम सकेर उनी सत्यसाई वृद्धाश्रमभित्र प्रवेश गर्नासाथ वृद्ध आमाबुवाले उनलाई स्वागत गर्दै आत्मीय संवाद र आशीर्वाद प्रदान गरेका थिए । आफूले पाएको पारिश्रमिकबाट वृद्धाश्रममै रहनुहुने आमाबुवालाई एकछाक भोजन ग्रहण गराउन पुगेकी उनले वृद्धाश्रममै आफ्ना छोराछारीको अभावमा बाँचिरहेका वृद्ध आमाबुवा सँगसँगै बसेर आफूले पनि भोजनग्रहण गरेपछि वृद्धाश्रमस्थलमा उहाँमा रहेको सेवा र करुणाको भाव झल्किएको वृद्धाश्रममा बस्ने आमाबुवाहरू बताउँछन् ।
‘रन्जु के.सी. बहिनी वृद्धाश्रममा आउँदा राज्य नै आएजस्तै भएको छ । वृद्धाश्रमकी अध्यक्ष माया खरेलले भन्नुभयो–‘उहाँ यहाँ आउँदा आमाबुवा पनि अति नै खुसी हुनुभयो । जनताको सेवामा व्यस्त हुदाँहुदै यहाँ आएर हामीलाई खुसी बाड्नुभयो ।’
वृद्ध आमाबुवाका ती थकित आँखाहरूमा केही खुसी दिन पुग्नुभएकी उहाँले केही मीठा पलहरू बिताउनुभयो, माया पोख्नुभयो र उहाँ हाम्री एक असल छोरी हुन भन्ने सम्झना मनभित्र गराएको वृद्धाश्रमका आमाबुवा बताउँछन् ।
‘सीमित समय थियो । कर्तव्य र जिम्मेवारीले बाँध्नुभएकी उहाँ पुनः कार्यक्षेत्रमा फर्किनुभयो । तर, वृद्ध मनहरूमा उहाँ एक प्रहरी मात्र नभएर सेवा भावले भरिएको असल व्यक्तिको रुपमा सम्झना छोडेर जानुभएको वृद्ध आमाबुवाले बताउनुभयो । ‘प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हन्छन्’ भन्ने वाक्यको मर्म जस्तै एकछिन भए पनि वृद्धाश्रममा पुगेर वृद्ध आमाबुवालाई उहाँले प्रदान गरेको न्यानो माया, मीठो भोजन, आनन्दमय सम्मान, आत्मीय संवादमा बिताएको समयले उनीहरुको मनमा प्रहरी निरीक्षक के.सी. सधै स्मरणमा रहेको वृद्धाश्रमका आमाबुवाहरु बताउँछन् । सरल भावका साथ आफ्नो छोरी, नातिनी जस्तै नानी वृद्धाश्रममा आउँदा धेरै खुसी लागेको वृद्ध आमा रानी खाणले भन्नुभयो–‘अझ सबैसँग बसेर खाना खाइ सबैसँग माया बाँडेर जाँदा मानसपटलमा सम्झना आइरहेको छ ।
कठोर अनुशासन पालना गर्ने प्रहरी अधिकृत भएर पनि समाजप्रतिको दायित्व निर्वाह गर्ने एक संवेदनशील व्यक्तिको परिचय उहाँले वृद्धाश्रममा छोडेर जानुभएको छ । प्रहरी निरीक्षक के.सी.का यस्ता कार्यहरू समाजमा सकारात्मक प्रेरणा दिने काम गर्छन ्। उनका कर्महरूले प्रहरी संगठनलाई नागरिक समाजसँग अझै नजिक भएर काम गर्ने उर्जा दिनेछ । आफ्नो पेशागत जिम्मेवारीसँगै प्रहरी मानवताको समवेदना पनि बोकेर आउँछ भने समाज अझ सुन्दर बन्छ भन्ने परिचय के.सी.को यो कर्मले देखाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij