२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विनोद बानियाद्वारा एनआरएनए साउथ अष्ट्रेलिया राज्य संयोजकमा उम्मेदवारी घोषणा

बिहिवार , जेठ १६, २०८२

अष्ट्रेलिया । एनआरएनए साउथ अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि विनोद बानियाले राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

संस्था र समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका बानिया यसअघि युथ सदस्य, स्टेट सचिव र हाल डेपुटी संयोजकको रूपमा कार्यरत रहनु भएको छ । अहिलेसम्मको अनुभवलाई आधार बनाउँदै उहाँले संस्थालाई अझ पारदर्शी, समावेशी र दीगो मार्गमा अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेको बताउनुभयो ।

बानियाले आफूले एनआरएनएको संरचना र समस्याहरू नजिकबाट अनुभव गरेको उल्लेख गर्दै सुधार, सहभागिता र नेतृत्व हस्तान्तरणमा आधारित अभियान अगाडि सार्ने बताउनु भयो ।

उहाँले आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य अनुभवमा आधारित दीर्घकालीन सुधार, युवाहरूको सशक्त सहभागिता र समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनुभयो ।

उहाँले नेपाली समुदायलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा मजबुत पहिचान दिलाउन रणनीतिक योजना अघि सार्ने जनाउनुभयो ।

युवाहरुलाई लक्षित गर्दै करियर गाइड, रेज्युमे कार्यशाला र नेतृत्व अभिमुखीकरण जस्ता कार्यक्रमहरू आयोजना गरी दोस्रो पुस्तालाई जिम्मेवारी र नेतृत्वको भावनासँग जोड्ने योजना रहेको भनाइ छ ।

‍यसैगरी, उहाँले सदस्यतामार्फत विशेष सुविधा उपलब्ध गराउने ‘मेम्बरशिप बेनिफिट प्रोग्राम’ ल्याउने, नेपाली व्यवसायहरूसँग सहकार्य गर्दै छुट र सेवा प्रवाह गर्ने योजनासमेत सार्वजनिक गर्नुभएको छ ।

“एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो,” भन्दै उहाँले पारदर्शिता, सहभागिता र सहकार्यमा आधारित नेतृत्वको आवश्यकताको कुरा अगाडि सार्नु भएको छ ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुन गइरहेको छ।