
बिहिवार , जेठ १६, २०८२
भैरहवा, १५ जेठ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले वृद्धाश्रममा खाना खुवाउने तथा पंखा हस्तान्तरण कार्यक्रम गरेको हो ।
१८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा कार्यक्रम गरिएको काँग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले बताउनुभयो । राजनीतिक पार्टी राजनीतिसँगै सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँले राजसंस्था मुलुक र जनताको हितमा नभएकाले नै गणतन्त्र स्थापना भएको बताए । ‘अहिलेको व्यवस्थालाई अझ बलियो बनाउनुपर्छ, ’उहाँले भन्नुभयो–‘नेतृत्वमा केही कमीकमजोरी भए त्यसलाई व्यवस्थासँग जोड्नुहुँदैन ।’ गणतन्त्र र लोकतन्त्रको विकल्प गणतन्त्र र लोकतन्त्र नै भएको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनुभयो । उहाँले यो व्यवस्थालाई टिकाइराख्नुपर्नेमा जोड दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अझ मजबुत बनाउनुपर्छ, ’ उहाँले भन्नुभयो ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनुभएका नेता रज्जाकले काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।
काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले वृद्धाश्रमलाई सम्मानजनक ठाउँ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काम नै पूजा भएको बताउनुभयो । उहाँले गणतन्त्र स्थापनाका लागि ठूलो संघर्ष भएको पछाडी फर्किन नसकिने र यो व्यवस्थालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यालयमा पुगेका सेवाग्राहीले कुनै भनसुनका आधारमा नभइ सहज रुपमा सेवा पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेल, काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, पार्टीको क्षेत्र नम्बर ३ (क) का कार्यबाहक सभापति गोविन्द प्रसाद बस्याल, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनाल, सह-सचिव कूल प्रसाद न्यौपाने, सिद्धार्थनगर उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर–७ का बुथ सभापति भविलाल पौडेल लगायतले बोल्नुभएको थयो ।
कार्यक्रममा वृद्धाश्रमलाई ४ थान सिलिङ पंखा र नगद रु. १५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको काँग्रेस रुपन्देही–३ का सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईले बताउनुभयो । कार्यक्रममा पार्टीको सिद्धार्थनगर उपसभापति देवराज न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रमलाई रु. ११ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij