२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिग चरणको अन्तिम खेलमा बर्दिया विजयी

बिहिवार , जेठ १६, २०८२

भैरहवा, १५ जेठ । रुपन्देहीको भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जीत निकालेको हो । यद्यपि यी दुवै टीम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच प्रतिष्पर्धा हुँदैछ ।

बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ४ रनको बलियो योगफल खडा गर्यो । जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे । बलिङमा बाँकेका निखिल धनकुट्टा र निराजन चन्दले २–२ तथा सिनब श्रेष्ठ र मोहम्मद इब्राहिम मियाले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बाँके २८ ओभर ३ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयो । उसका लागि विशाल कुमार थापाले ३४, भुवन शाहीले ३२, दिव्यान्स बर्माले २९ र आषिश नाउले १६ रन बनाए पनि टीमलाई जीत दिलाउन सकेनन् । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३, आकाश थापा र संयकजंग थापाले २–२ तथा सिर्जन भुजेल र आयन खड्काले समान १–१ विकेट हात पारे । खेलमा बर्दियाका आदित्य ढकाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जनाए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी राम किसन विश्वकर्माले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।