
शनिवार , चैत्र १४, २०७७
भैरहवा, १४ चैत ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का रुपन्देही जिल्ला सदस्य दिलिप कुमार वि.क.सहित चारसय जना युवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जसपा रुपन्देही जिल्ला सदस्य तथा पूर्व युवा शक्ति नेपाल रुपन्देही जिल्ला अध्यक्ष वि.क.सहित चारसय जना नेकपा एमालेमा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले बताए ।
एमालेमा प्रवेश गर्नेहरुमा सुरेन्द्र वि.क., अनिश श्रेष्ठ, अमर थापा, सवित्रा थापा, पुरुषोत्तम केसरी, विजय वि.क.(सुनार), गोपाल परियार, अजय यादव, अविनाश सुनार, सागर विश्वकर्मा, सुरज ठकुरी, सचिन तुलाधर, सुभाष विश्व, विजय वि.क.,गोविन्द गैरे, जय बहादुर सारु, भक्त बहादुर परियार लगायत रहेका छन् ।
एमाले नगर कमिटी सिद्धार्थनगरले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका युवाहरुलाई एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै नेता विश्वकर्माले राष्ट्रियस्तरमा मात्र नभइ एमाले अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित पार्टी भएको बताए । उनले एमालेसंग अरु पार्टीको तुलना हुन नसक्ने दावी गरे । उनले राष्ट्रियता, जनताको स्वाभिमान, सामाजिक सदभावको मामिलामा एमाले प्रतिबद्ध रहेको बताए । उनले पार्टीले जनतालाई निर्णायक र सर्वोपरी ठानेको बताए ।
रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विश्वकर्माले हिजो संसद पुनस्थार्पना गर्नुपर्छ भनेर आन्दोलन गर्ने पक्षले आज नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेबाहेक अरु केही गर्न नसकेको बताए ।
‘उहाँहरुले राजीनामा मागिरहनुभएको छ, तर समर्थन फिर्ता वा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छैन, प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावको सामना गर्छु, विश्वासको मत लिन्छु, नसके राजीनामा दिएर जनताको बीचमा जान्छु भन्नुभएकै छ, ’उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने अवस्थामा नरहेको उनको भनाइ थियो ।
विशाल पार्टी एमालेमा समावेश भइसकेपछि पार्टीको नीति, नियम र विधानमा रही निस्वार्थ भावले देश र जनताको हितको लागि काम गर्ने नवप्रवेशी दिलिप कुमार वि.क.ले बताए ।
त्यस्तै एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले पार्टीभित्रका षड्यन्त्रका कारण पार्टी एकीकरणको काम पुरा नहुँदै विभाजन भएको बताए । उनले कम्युनिष्टको नीति, विचार, र सिद्धान्तलाई आत्मसात गर्दै आगामी निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने गरी अगाडी बढ्नुपर्ने बताए ।
एमाले प्रदेश विभाग सदस्य डासुराम पाण्डेले कम्युनिष्ट पार्टीलाई अगाडी बढाएर समाजवादको स्थापना गर्नुपर्ने बताए । उनले घरघरमा एमाले पुगेको बताए ।
पार्टीका रुपन्देही जिल्ला सचिवालय सदस्य पम्फावती खनालले हत्तोसाहित हुनुपर्ने अवस्था नरहेको बताइन् । उनले चुनाव जितेर पार्टीलाई अगाडी ल्याउने बताइन् ।
एमाले प्रदेश विभाग सदस्य राजेन्द्र प्रसाद पन्थीले पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताए । उनले जनताको समस्या समाधान गर्दै न्यायको पक्षमा उभिनुपर्ने बताए ।
पार्टीका अर्का प्रदेश विभाग सदस्य भरत कुमार पोखरेलले विशाल पार्टी एमालेमा आउने क्रम बढ्दै गएको बताए । उनले प्रतिष्ठित उद्योगी व्यवसायी पनि एमालेमा प्रवेश गरेको बताए ।
पार्टीका रुपन्देही जिल्ला जिल्ला सदस्य एवं सिद्धार्थनगर सह–इञ्चार्ज प्रेम कुमार सेञ्चुरीको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij