
शनिवार , चैत्र १४, २०७७
भैरहवा, १४ चैत ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले कांग्रेसले सरकार बनाउन हतार नगर्ने बताएका छन् । उनले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न म्याण्डेट दिएकोले सरकारमा जान पार्टीले हतार नगर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देहीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै खांणले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न सके मात्र मुलुक समृद्ध बन्न सक्ने बताए । उनले उद्योगी व्यवसायीले धेरै कमाउन थाले भनेर सरकार डरायो भने अर्थतन्त्र कसरी बलियो हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘कमाउ सरकार तिम्रो साथमा छ सरकारले उद्योगी व्यवसायीलाई भन्नुपर्छ ।’ उनले उद्योगी व्यवसायीले अधिकतम कर तिर्नुपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिए । सरकारले पुँजीगत खर्च गर्न नसकेको र पुँजीगत खर्च हुन नसके मुलुकको विकास हुन नसक्ने बताए । अब बजेटको आकार बढाउनुपर्ने र त्यसको लागि नेपाली जनताले धेरै कमाउने वातावरण सरकारले सिर्जना गर्नुपर्ने खांणले बताए ।
नेपालको भौगोलिक विविधतालाई सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । मुलुकको पर्यटकीय सम्भावनालाई बुझेर अगाडी बढ्नुपर्ने उनले बताए ।
‘उद्योग व्यवसाय बढाएर लाखौं नेपाली युवालाई उद्यममा लगाउनुपर्छ ’उनले भने । उद्योगीले माग नै नगरेको ट्रक लाइनको नाममा नेपाल विद्युत प्राधिकरणले दुःख दिएको बताए । उनले भने, गल्ती गर्ने विद्युत प्राधिकरण अनि सजाय पाउने उद्योगीले ?
कतिपय मुद्दामा राष्ट्रिय सहमतिको जरुरी रहेको र आवश्यक परे कानून संशोधन गरेर अगाडी बढ्नुपर्ने उनको भनाइ छ । संविधान अनुसार अगाडी बढ्नुपर्ने तर संविधान एउटा अनि कार्यान्वयन अर्को गर्न नहुने खांणले बताए ।
आफ्नो प्रदेश तथा क्षेत्रको विकासमा गम्भिर हुनुपर्ने बताए । उद्योगी व्यवसायीबीच समयसमयमा अन्तरक्रिया कार्यक्रमहरु हुनुपर्ने उनको भनाइ थियो । उनले समयसापेक्ष परिवर्तनको आवश्यक रहेको बताए । ‘परिवर्तन जनताकोे पक्षमा रुपान्तरण गर्ने हाम्रो कला/क्षमतामा कमीकमजोरी छन, कमीकमजोरीलाई स्वीकार नगरेसम्म परिवर्तन ल्याउन सकिदैन, ’उनले भने । विगतमा औद्योगिक क्षेत्रमा धेरै परिवर्तन भए पनि परिवर्तनको अनुभुति गराउन नसकिएको खांणले बताए । पूर्व रक्षामन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खांणले आम नागरिकलाई उत्साहित गर्न नसकिएको बताए । उनले परिवर्तनसंग जनतालाई जोड्न नसकिएको बताए । ‘कसरी परिवर्तनलाई जनतासंग जोड्ने यो गम्भिर सवाल हो, ’उनले भने ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई प्रबद्र्धन गर्न तीनै तहको सरकारबाट सहजीकरण भए छोटो समयमा धेरै काम गर्न सकिने बताए ।
संविधानसभा सदस्य आदित्य नारायण कसौधनले सिद्धार्थ उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा योगदान पुर्याएको बताए । उनले उद्योग व्यवसायीको हकहितमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
संविधानसभा सदस्य इस्तियाक अहमद खानले कृषिप्रधान मुलुक नेपालमा खाद्य वस्तु आयात गर्नुपरेको बताए । उनले लामो समय भइसक्दा पनि भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत रहेका पुलहरु निर्माणसम्पन्न हुन नसकेको बताए ।
लुम्बिनी प्रदेशका प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले कोरोनाको नाममा जनतालाई त्रासमा राखेर भ्रष्टाचार गर्न नहुने बताए । उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सरकारले गर्न नसकेको कामहरु निजी क्षेत्रले गरेको बताए । उनले उद्योगी व्यवसायीले सरकारसंग मात्र नभइ प्रतिपक्षी दलसंग पनि सहकार्य गर्ने बताए ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले सरकार गम्भिर भए उद्योगी व्यवसायीका समस्या समाधान हुने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले सम्पूर्ण संघ–संस्था तथा स्थानीय तहसंग मिलेर सिद्धार्थ उद्योगा वाणिज्य संघ अगाडी बढेको बताए । उनले कोभिड–१९ बाट उद्योग व्यवसाय तथा पर्यटन क्षेत्र प्रभावित भएको बताए ।
कार्यक्रममा संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भीष्म प्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेललाई सपथग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष न्यौपानेले पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत तथा कर्पोरेट सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
संघको साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण कुमार गोयनका, उद्योग उपाध्यक्षमा दिलीप कुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, सचिवमा दिपेन्द्र प्रधान र कोषाध्यक्षमा गोविन्द ज्ञवाली निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै कर्पोरेट सदस्यमा रोहित कुमार अग्रवाल र विकास कुमार गोयनका, वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे र वाणिज्यतर्फ (महिला) सदस्यमा यमकला न्यौपाने निर्विरोध निर्वाचित भएका थिए । वाणिज्य र उद्योगतर्फ (खुल्ला) र उद्योगतर्फ (महिला) पदमा भने निर्वाचन भएको थियो ।
वाणिज्यततर्फको सदस्यमा संजय कुमार बेरिवाल, प्रितम रौनियार, प्रमोद रिजाल, अर्जुन कार्की, धर्मवीर शर्मा, कमल प्रसाद मरासिनी, गोपाल भण्डारी, गौरव श्रेष्ठ, अभिनव मयुर कसौधन र हरिश सेठिया निर्वाचित भएका थिए ।
त्यस्तै उद्योगतर्फको सदस्यमा मंगल भण्डारी, रमेश घिमिरे, रचना क्षेत्री, भुवन कुमार कान्दु र हरि बहादुर थापा निर्वाचित भएका थिए । त्यसै गरी उद्योगतर्फ (महिला) सदस्यमा पल्लवी न्यौपाने निर्वाचित भएकी थिइन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले संघलाई अझै उचाइमा पुर्याउने बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि संघमार्फत पहल गर्ने बताए ।
वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ हालसम्म निरन्तर रुपमा उद्योग व्यवसायीको पक्षमा काम गर्दै आएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सचिवालय नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij