२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सागर ढकाल भन्छन्–राजनीतिलाई पेशा बनाउनेलाई साथ नदिनुस्

सोमवार , जेठ २०, २०८२

भैरहवा, १९ जेठ । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सागर ढकालले राजनीतिलाई पेशा बनाउने व्यक्तिहरुलाई साथ नदिन आग्रह गर्नुभएको छ । उहाँले चुनावमा सबैभन्दा बढी खर्च गर्नेहरु नै भ्रष्टाचारी भएको दावी गर्नुभएको छ ।

‘स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगर’ ले आइतबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा ढकालले यस्तो बताउनुभएको हो । ‘२०८४ सालमा सक्षम, योग्य उम्मेदवारलाई सहयोग गर्नुस्’उहाँले भन्नुभयो–आफूले सकेको प्रयास गर्ने हो, ’नतिजाको आशा गर्नुहुँदैन ।’

उहाँले काँग्रेस, एमाले र माओवादीबाट जनता वाक्क भएको बताउनुभयो । उहाँले आफू २०८४ साल अघि हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पार्नुभयो । ‘देशका लागि केही गरौं भनेर आएको हुँ, इमान्दार र उपयुक्त उम्मेदवारलाई साथ दिनुस्, ’उहाँले भन्नुभयो ।

स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीले मुलुकमा भ्रष्ट र प्रतिशोधको राजनीति चलिरहेको बताउनुभयो । उहाँले स्वतन्त्र उम्मेदवार र स्वतन्त्र उम्मेदवार भइ जनप्रतिनिधिमा निर्वाचितहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राम्रो काम गर्नेलाई काम गर्न नदिइएको दावी गर्नुभयो ।

व्यवसायी झबिन्द्र प्रसाद बेल्बासेले पार्टीको सिण्डिकेट तोड्न सामूहिक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

भैरहवा आउनुभएका सागर ढकालले जिल्ला कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग भेट गर्नुभएको रास्वपा युवा नेता मधु अर्यालले जानकारी दिनुभयो ।

ढकाल २०७९ सालमा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो  । 

IMG_6663.JPG