२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा सिद्धार्थनगर अध्यक्षमा श्रेष्ठ

शनिवार , चैत्र १४, २०७७

भैरहवा, १४ चैत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही, सिद्धार्थनगर नगर अधिवेशनको घोषणा सभा कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट निर्वाचित नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उक्त घोषणासभामा सपथ ग्रहण गराइएको थियो ।

अधिवेशनले इञ्जिनियर चन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा ३२ सदस्यीय सिद्धार्थनगर नगर कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । जसको सदस्यहरुमा सञ्जु क्षेत्री, सागर प्रताप राणा, चन्द्रशेखर पाण्डे, बलराम शर्मा, गोपाल भण्डारी, उषा किरन गुरुङ, निर्मला चन्द, दुर्गा कुमारी श्रेष्ठ, संगिता गुरुङ, हरिश पौडेल क्षेत्री, लक्ष्मी गौतम सिंह, प्रदीप ध्वज राणा, कविता कार्की, रविन्द्रलाल श्रेष्ठ, केदार प्रसाद बरई, दिल बहादुर गुरुङ, सुमित्रा वि.के., अनुप थापा, अर्जुन थापा, युवराज तिमिल्सिना, कृष्ण बहादुर गुरुङ, राजेश कुमार ढकाल, छेदीलाल श्रीवास्तव, दीपक पाण्डे, ममता चौधरी, सुमन पौडेल, मेघराज पन्थी, ताहिरा खातुन, वृजेश यादव, रीता वि.क. र रामदवन कोइरी रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता दिलिप कुमार मल्लिकले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले देश अत्यन्तै संकटमा रहेको बताए । उनले राजा र हिन्दु राष्ट मुलुकलाई आवश्यक भएको र त्यसको लागि राप्रपाले नेतृत्व पाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसले आवाज बुलन्द गर्न नसकेको बताए । उनले राजा र हिन्दुराष्ट्र राप्रपाको एजेण्डा मात्र नभइ जनताको माग पनि भएको बताए ।

राप्रपा लुम्बिनी प्रदेशका प्रमुख प्रदीप कुमार उदयले संसद विघटन असंवैधानिक कदम भए पनि ताजा जनादेशमा जानुपर्ने बताए । उनले संसद विघटनविरुद्ध आन्दोलन गरेको पक्षले सरकारबाट आफ्नो समर्थन फिर्ता नलिएको बताए । राजासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापना र संघीयताको खारेजी हुनुपर्ने उनको भनाइ थियो । धर्मनिरपेक्षताको नाममा लोभ र दबाबमा धर्म परिवर्तन भइरहेको उनले बताए ।

राप्रपा केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलीले राप्रपासंग अरुको प्रतिष्पर्धा नदेखिएको बताए । उनले विगतमा प्राविधिक कारणले राप्रपा चुनावमा हारेको भए पनि अब पार्टीलाई जिताउनुपर्ने बताए ।

राप्रपा रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष सागर प्रताप राणाले पार्टीलाई अगाडी बढाउन संगठनलाई पनि अगाडी बढाउनुपर्ने बताए । उनले निर्वाचित कार्यसमितिलाई आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवालले देश संकटको परिस्थितिमा गुज्रिरहेको बताए । राप्रपा सिद्धार्थनगरका निवर्तमान अध्यक्ष राजेश कुमार ढकालले पार्टीले नेपाली जनताको मन जित्नुपर्ने बताए ।

राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष तथा वडा/नगर अधिवेशन समिति संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, सिद्धार्थनगर अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठको धन्यवाद ज्ञापन तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ११७ जना राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । त्यस्तै कार्यक्रममा विभिन्न संघ–संस्थामा विभिन्न पदमा निर्वाचित राप्रपाका नेता कार्यकर्ताहरुलाई पनि सम्मान गरिएको थियो ।