२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पार्टी पदाधिकारीलाई शेखर कोईरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?

शनिवार , जेठ २५, २०८२

काठमाण्डाै‌ं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गर्नुभएको छ । 

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गर्नुभएको हो ।

उहाँले नेपाली काँग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । यस पटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्ने बताउनुभयो। 

नेता कोईरालाले भन्नुभयो, ‘अहिले त ठिकै छ, अधिवेशन हुन्छ, कहिले हुन्छ थाहा छैन । नेपाली काँग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ । केले रोक्यो यस पटक ? किन रोकिँदैछ ? यसको जवाफ पदाधिकारीले दिने की नदिने भन्ने हाम्रो प्रश्न छ । यो ठूलो प्रश्न छ । केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली काँग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन ? सक्दैन ? मंसिरमा हुनुपर्ने हो नि । ४ वर्षमा हुन सकेन भने ता पनि भनेर एउटा वाक्यमा भनिदिएको छ एक वर्ष थप्न सक्ने । तपाईंहरुले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त । समयमा अधिवेशन हुनुपर्छ । त्यो समय भनेको ४ वर्ष हो । सधैँ नेपाली काँग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली काँग्रेसको भविष्य कमजोर हुन्छ । अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छाँै ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर ? लार्जेस्ट पार्टी भइसकेपछि ढाइ वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ । नेताहरुलाई जबसम्म कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरु दास हुन्छन् । तपाईंहरु कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् । ’

नेता कोईरालाले नेपाली काँग्रेस कमजोर नरहेको बताउनु भयो ।