
शनिवार , जेठ २५, २०८२
भैरहवा, २४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ र १३ का बालबालिकाहरुलाई शनिबार भैरहवामा अभिमुखीकरण गरिएको छ । माइती नेपाल आवधिक गृह भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा अभिमुखीकरण गरिएको हो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानूनी विषयक अभिमुखीकरणमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडा सदस्य निलु श्रीस मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य किरण देवी सुनार, पत्रकार शंकर पाण्डे लगायत सहभागी बालबालिकाको तर्फबाट पनि आ–आफ्ना भनाइहरु राख्नुभएको थियो।
बालबालिकाहरुलाई श्रम शोषण, न्यून ज्याला, यौन शोषण जस्ता कुराका बारेमा सचेतनामूलक विषयमा जानकारी गराइएको थियो । कानून बमोजिम १४ वर्ष नपुगेका बालबालिकालाई कुनै पनि व्यवसायिक श्रममा लगाउन नपाइने व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा व्यवसायिक बालयौन शोषणका स्वरुपहरुका बारेमा पनि स्पष्ट पारिएको थियो ।
नेपालमा खास गरी मनोरञ्जनका क्षेत्रहरु डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरीसाँझ र मसाज पार्लरमा काम लगाउने बहानामा विभिन्न खालका प्रलोभनमा पारी बेचविखन तथा व्यवसायिक रुपमा यौन शोषण गरिने गरेको पनि संयोजक क्षेत्रीले बताउनुभयो । कार्यक्रममा व्यवसायिक बाल यौन शोषणविरुद्धका कानूनी व्यवस्थाका बारेमा सहभागी बालबालिकाहरुलाई जानकारी गराइएको थियो ।
नेपालको संविधान २०७२ को धारा ३९ को व्यवस्था, मुलुकी अपराध ऐन २०७४, बालबालिका संम्बन्धी ऐन २०७५, बालश्रम ऐन २०५६, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ लगायतका ऐन कानूनका बारेमा पनि उनीहरुलाई जानकारी गराइएको कार्यक्रम संयोजक माया क्षेत्रीले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij