
आइतवार , चैत्र १५, २०७७
बुटवल, १५ चैत ।
जनमुक्ति युवा महासंघ तिलोत्तमा नगर समितिको दोस्रो अधिवेशनले बुद्धि थापा मगरको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा लप्सन गुरुङ,उपाध्यक्षमा सुदिप थापा, सचिवमा शान्ति पुन, सह-सचिवमा इशा छन्त्याल, कोषाध्यक्षमा अरुण मश्राङगी र सदस्यहरुमाःभीमसेन थापा, विशाल गाहा, पदम सिंजाली, कमला छेदी, अविनाश राना, गगन थापा, शर्मिला थापा, राजकुमार रास्कोटी, विनोद थापा, कृष्ण थापा र सुदिप थापा चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गदैं राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी मगरले मुलुकमा भ्रष्टाचार र वेथिति बढ्दैं गएकाले त्यसलाई नियन्त्रण गर्न युवाको भूमिका सशक्त हुंनुपर्नेमा जोड दिए । जनमुक्ति पार्टीले भ्रष्टाचार नियन्त्रण होइन निर्मुल गर्न चाहेको उनको भनाइ थियो । युवा पुस्ताले विदेशी संस्कार र संस्कृति नभइ आफ्नै संस्कृति र संस्कार संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले मुलुकको विकास र समृृद्धिको बाधक भ्रष्टाचार भएको भन्दैं यसको अन्त्यका लागि युवाहरु राजनीतिमा आउनुपर्ने बताए । पेरुमा एक जना युवती क्यामेलाले थालेको आन्दोलनले त्यहाँ शिक्षा क्षेत्रमा आमूल परिर्वन आएको उदाहरण दिंदै युवा शक्तिले रचनात्मक र सिर्जनशील विचार र नेतृत्व दिनसक्नुपर्ने बताए । भ्रष्टाचार प्रमाणित भएमा व्यक्तिको सबै सम्पत्ति राष्ट्रियकरण गरी उसलाई आजीवन जेल सजाय हुनुपर्ने मुद्दा जनमुक्ति पार्टीले बलियोसंग उठाएको र यो माग आम नेपालीको माग भएको गाहाले बताए । राजनीतिलाई घृणा गरेर होइन, स्वयं युवाहरु सहभागी भएर मात्रै समाज रुपान्तरण हुन सक्ने गाहाले बताए ।
महासंघका नगर अध्यक्ष बलबहादुर थापाको अध्यक्षता, जिल्ला सचिव पहलसिंह रानाको सञ्चालन तथा सदस्य बुद्धि थापामगरको स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीका अध्यक्ष प्रेमबहादुर थापामगरले ,जनमुक्ति युवा महासंघ, रुपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकी मगर लगायतले बोल्दै आउँदो निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी र निर्णायक शक्ति बनाउन संगठित हुनुपर्नेमा जोड दिए ।
जनमुक्ति पार्टीले अघि सारेका एजेण्डा र मुद्दालाई अरु दलले चोरेर सत्तामा पुगेको भन्दै आफ्ना एजेण्डा र जनमुक्ति विचारधारालाई गाउँगाउँमा पुर्याउनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रम पूर्व युवा महासंघले तिलोत्तमाको योगिकुटीदेखि मंगलापुरको कविराजपथसम्म मोटरसाइकल र्याली निकालेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij