
शुक्रवार , जेठ ३१, २०८२
भैरहवा, ३० जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित सिद्धार्थ बौद्ध गुम्बाको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उद्घाटन गर्नुभएको हो । वडा कार्यालयबाट २२ लाख र जनस्तरबाट ४० लाख ४३ हजार रुपैयाँको सहयोग गरी ६२ लाख ४३ हजार रुपैयाँमा गुम्बा निर्माण भएको हो ।
गुम्बा उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष यादवले बुद्धको सन्देश आत्मसाथले समाजसँगै देशमा शान्ति र समृद्धि हुने बताउनुभयो । सरकारले कुने काम एक्लै नसके जनस्तरको सहयोग भए ठूलो काम गर्न सकिने उहाँले बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले भन्नुभयो–‘बाटो, नाला र पुल धेरै बन्यो अब समाज बन्नुपर्छ र समाज बनाउन जनप्रतिनिधि र समाजका हरेक नागरिकबीच समन्वय हुनुपर्छ ।’ उक्त गुम्बाको लागि बाउन्ड्री वालमाथि तारबार, गेटसहितको अन्य आवश्यक भौतिक संरचनाहरु निर्माणका लागि वडा कार्यालयबाट आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गुम्बाको पहिलो तल्लामा शक्ति भिम कक्ष निर्माण गरिएको छ, जुन स्व. भिम थकालीको स्मृतिमा उहाँका श्रीमान् शक्तिप्रसाद थकालीद्वारा करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो । उक्त सभा हलको उद्घाटन शक्तिप्रसादले गर्नुभएको हो ।
उक्त अवसरमा स्व. भिम थकाली र स्व. वास्मती गुरुङ्गप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । विशेष गरेर वास्मती गुरुङ्गको पहिलेदेखिको संकल्प, सहयोग र हिम्मतले आज गुम्बा निर्माण सम्भव भएको भन्दै उहाँको योगदानको स्मरण स्वरूप गुम्बा प्रांगणमा अर्धकदको शालिक स्थापना गरिने पनि घोषणा गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका तथा ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवारद्वारा ट्रससहित ब्याटमिन्टन कोर्ट निर्माणमा रु. ३ लाख ७९ हजार ५६५ रूपैयाँको योगदान गरिएको थियो । त्यस्तै, फुलबारी सेवा समाजद्वारा करिब ९ लाखको लागतमा पक्की भान्साघर निर्माण गरिएको हो ।
फूलबारी सेवा समाजका अध्यक्ष हुकुम गुरुङले वास्मती गुरुङको दीर्घकालीन संकल्प, सहयोग र हिम्मतका कारण गुम्बा निर्माण सम्भव भएको स्मरण गर्दै उहाँको योगदानको कदरस्वरूप गुम्बा प्राङ्गणमा अर्धकदको शालिक स्थापना गरिने घोषणा गरिएको बताउनुभयो ।
कार्यक्रममा १६८ जना सहयोगी दाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij