
आइतवार , चैत्र १५, २०७७
बुटवल, १५ चैत ।
प्रेस चौतारी नेपाल रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीको यही चैत २५ गते हुने निर्वाचनमा प्रेस चौतारीको तर्फबाट उम्मेदवार चयन गर्ने तथा अन्य गठबन्धनका पत्रकार सम्बद्ध संघ–संगठनसंग सहकार्य गर्ने गरी ३ सदस्यीय कमिटी गठन गरेको छ ।
बैठकले प्रेस चौतारी नेपालका केन्द्रिय पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार अधिवक्ता डा. बालकृष्ण चापागाईको संयोजकत्वमा कमिटी गठन गरेको छ । डा. चापागाईको संयोजकत्वमा रहेको समितिमा प्रेस चौतारी नेपाल रुपन्देहीका संस्थापक सिद्धिचरण भट्टराई र प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सचिव नरेश के.सी. सदस्य रहेका छन् ।
उक्त समितिलाई प्रेस चौतारी नेपालले आसन्न पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा चौतारीको तर्फबाट पठाउने उम्मेदवार चयन गर्ने र अन्य संगठनसंग आवश्यक छलफल तथा बैठक गर्ने गरी बैठकले अख्तियारी प्रदान गरेको प्रेस चौतारी नेपाल रुपन्देहीका सह–संयोजक शंकर प्रसाद पाण्डेले बताए ।
त्यसै गरी चौतारीको बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रदेखि नै भएको प्रतिगमनविरुद्धको पक्षधरको एकतालाई स्वागत गर्दै रुपन्देहीमा पनि प्रतिगमनविरुद्धको पक्षधरबीच निर्वाचनमा सहकार्य गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।
संगठनका जिल्ला संयोजक विनोद परियारको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लामा पत्रकार सम्बद्ध संघ–संगठनको संख्यात्मक अवस्था र आगामी निर्वाचनको विषयमा रिर्पोटिङ तथा छलफल भएको थियो ।
बैठकमा वरिष्ठ पत्रकार डा. चापागाई, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य घनश्याम गौतम, नेकपा एमालेका जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, एमालेका जिल्ला सचिवालय सदस्य खेम लुइटेल, युवा संघ नेपालको केन्द्रिय उपमहासचिव सरिता श्रीस लगायतले आसन्न पत्रकार महासंघको निर्वाचनमा प्रतिगमनविरुद्धको मोर्चाबन्दीका साथ आफ्नो पक्षमा निर्वाचन परिणाम पार्ने गरी विभिन्न योजना बनाएर अगाडी बढ्ने निर्णय गरिएको थियो ।
उक्त बैठकले प्रतिगमनविरुद्ध लागेका पार्टीहरुसंग सहकार्य र सम्वाद गर्दै ती दल निकटका पत्रकारहरुलाई प्रेस चौतारीसंग सहकार्यको लागि नेकपा एमाले रुपन्देही अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष पुरुषोतम घिमिरे, जिल्ला सचिवालय सदस्य खेम लुइटेल र सरिता श्रीस रहेको पार्टी परिचालन समिति समेत गठन गरेको प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक विनोद परियारले बताए ।
प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन नेपाल, देशभक्त पत्रकार संघ, मधेशी पत्रकार समाज नेपाल लगायतका पत्रकार सम्बद्ध संग–संगठनले चुनावी मोर्चा खडा गरेका छन् । सोही अनुसार देशैभरको चुनावी मोर्चा तयार हुने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij