२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्व रक्तदाता दिवस : रुपन्देहीमा ६४ जना रक्तदाता सम्मानित

शनिवार , जेठ ३२, २०८२

बुटवल, ३१ जेठ । विश्व रक्तदाता दिवस–२०८२ को अवसरमा शनिबार रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ । ‘रक्तदान गरौं, आशा जगाऔं : संगै मिली जीवन बचाऔं’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाद्वारा बुटवलमा  आयोजित रक्तदाता सम्मान कार्यक्रममा नियमित रक्तदान गर्नेहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, रेडक्रस रुपन्देही जिल्ला सभापति रामचन्द्र उपाध्याय, उपसभापति एवं रक्त सञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङ लगायतले सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा अग्रज सम्मानित अन्तरगत यस क्षेत्रको पहिलो रक्तदाता मृगेन्द्र शेरचन, चित्रमान गौचन लगायत ५ जनालाई सम्मान गरिएको थियो । त्यस्तै स्वर्ण पदकमार्फत ७ जना, रजत पदकमार्फत २७ जना र प्रशंसापत्रबाट २५ जनालाई सम्मान गरिएको थियो ।   

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले रक्तदानले मानव जीवन बचाउने कार्य गर्ने भएकोले बुटवलका स्थानीयलाई रगत किन्दा लाग्ने रकम तिर्नु नपर्ने गरी रेडक्रससँग सम्झौता भएको बताउनुभयो । उहाँले सबै पालिकाले यसो गरेमा बिरामीले निःशुल्क रगत प्राप्त गर्न सक्ने बताउनुभयो । रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले रेडक्रसले चाहेर मात्रै रगत निःशुल्क हुने अवस्था नरहेको बताउनुभयो । 

जिल्ला उपसभापति एवं रक्त सञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङले निरन्तर रक्तदान गर्नको लागि प्रोत्साहन गर्न सम्मान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले यस्ता सम्मानले रक्तदाताको मनोबल बढ्नुका साथै नियमित गर्ने वातावरण बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्ण चौहान क्षेत्रीले प्रदेश सरकारसमक्ष गएमा निःशुल्क रगत प्रदानमा सहजता हुने उल्लेख गर्नुभयो । नियमित रक्तदाता समाजका अध्यक्ष दया शिलवालले रगतको आवश्यकता अनुसार रक्तदान नभएको अवस्थामा यस्ता सम्मानले रक्तदाताको नियमिततामा राम्रो प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल इञ्चार्ज राधा ज्ञवालीले प्रशंसा–पत्र, रजतपदक र कास्यपदक पाउनका लागि विभिन्न मापदण्ड रहेको बताउँदै महिला–पुरुष तथा दुर्लभ रक्तदाताको लागि पनि छुट्टै व्यवस्था रहेको जानकारी दिनुभयो । ३३ पटक रक्तदान गर्नुभएकी गोमा ज्ञवालीले महिलाले रक्तदान गर्न सक्छन भन्ने उदाहरण बन्न पाउँदा खुसी लागेको बताउनुभयो । सम्मानित रक्तदाता अशेष सिलवालले सम्मानले नियमित रक्तदान गर्ने मनोबल बढेको बताउनुभयो ।

रेडक्रस रुपन्देहीका मन्त्री टेकराज थापाको सञ्चालन तथा कोषाध्यक्ष अर्जुन राज उपाध्यायको सिद्वान्त बाचनमा कार्यक्रम सम्पन्न भएको थियो ।