
आइतवार , आषाढ १, २०८२
भैरहवा, १ असार । न्यू पक्लिहवा तेक्वान्दो दोजाङ्गले खेलाडीहरुलाई प्रमाणपत्र तथा बेल्ट वितरण गरेको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा खेलाडीहरुलाई प्रमाणपत्र तथा बेल्ट वितरण गरिएको दोजाङ्गले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् रुपन्देहीका जिल्ला तेक्वान्दो प्रशिक्षक तथा भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारीले तेक्वन्दो खेल मात्र नभइ यसबाट अनुशासन र लगनशीलता केन्द्रीत गर्न सकिने जीवनउपयोगी सीपहरु आर्जन गर्न सकिने बताउनुभयो । उहाँले तेक्वान्दो खेलको महत्व रहेको भन्दै बेल्ट अपग्रेडेड खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।
विशिष्ट अतिथि पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले तेक्वान्दो खेलले शारीरिक तथा मानसिक स्वास्थ्यको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यो खेलले विशेष गरी महिला सशक्तिकरणमा टेवा पुग्ने बताउनुभयो । अध्यक्ष गुरुङले शारीरिक तथा तन्दुरुस्तीको लागि तेक्वान्दो जस्तो मार्सल आर्ट महिला–पुरुष सबैको लागि अत्यन्त लाभदायी हुने बताउनुभयो ।
कार्यक्रममा खेलाडीलाई प्रमाणपत्र तथा बेल्ट वितरणका साथै दोजाङ्गमा अनुशासित प्रशिक्षार्थीलाई पुरस्कत गरिएको थियो । पुरस्कृत हुनेमा छात्रतर्फ अनमोल नेपाली र छात्रातर्फ मोनिका पासी रहनुभएको छ ।
त्यस्तै बुटवल तेक्वान्दो दोजाङ्गद्वारा आयोजित तेस्रो जिल्लास्तरीय खुल्ला मेयर कप च्याम्पीयनसीप २०२५ मा सहभागी भइ न्यू पक्लिहवा दोजाङ्गलाई पहिलो पदक दिलाउन सफल दुईजना खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
श्री पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता, शिक्षिका चेत कुमारी गुरुङको स्वागत तथा शिक्षिका यम कुमारी थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा श्री बेलहिया माविकी प्रधानाध्यापक बिना भण्डारी, इनरह्वील क्लब अफ लुम्बिनीकी उपाध्यक्ष एवं रुपन्देही लिलाराम न्यौपाने माविकी शिक्षिका नारायणी नेपाल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङ, नयाँ गाउँ रानी गाउँ दुर्गा मन्दिर समितिका अध्यक्ष याम बहादुर थापा (माइला) लगायतले भनाइ राख्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij