२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

निगमको वाइडबडी जहाज अत्यावश्यक स्वास्थ्य सामग्री लिन बेइजिङ पुग्यो

सोमवार , चैत्र १६, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं, १६ चैत ।

    अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज हिजो सांझ चीनको राजधानी बेइजिङ उडेको छ । सो आज बिहान क्यपिटल ईन्टरनेशनल एयरपोर्ट पुगेको छ ।

    सरकारको निर्णय अनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको निगमले जनाएको छ । गत चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

    निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार सांझ ५ः३० बजे काठमाडौँबाट बेइजिङ प्रस्थान गरेको हो । आज अपरान्ह बेइजिङबाट काठमाडौँका लागि प्रस्थान गरी राती पौने ९ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने निगमले जनाएको छ ।

    चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिड विरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी गराएकी छन् ।

    निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत ७ देशका ९ गन्तव्यमा उडान भर्दै आएको प्रबक्ता श्रेष्ठले बताएकी छन् ।