
सोमवार , आषाढ २, २०८२
काठमाडौं, २ असार । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आयोजित १८ औं डिष्ट्रिक्ट एसेम्बली, डिएलटिएस तथा रिकग्निसन सेरेमनी २०८२ शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा
सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेजको आतिथ्यता, १७ क्लबहरूको सह–आतिथ्यता र पाँच क्लबहरूको समन्वयमा सम्पन्न कार्यक्रममा देशैभरका क्लबहरूबाट उत्साहजनक सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का आगामी वर्ष २०२५–२६ का गभर्नर विनोद कोइरालाले रोटरी र रोट्रयाक्ट मिलेर सेवा परियोजनाहरू अन्तर्गत कार्बन उत्सर्जन कम गर्ने परियोजनाहरू इलेक्ट्रिक कुकिङ, वृक्षरोपण लगायत कार्यहरू गर्न क्लबहरूलाई अनुरोध गर्नुभयो । उहाँले आधारभूत शिक्षाको क्षेत्रमा पनि काम गर्न क्लबहरूलाई आग्रह गर्नुभयो ।
गेस्ट अफ अनरका रूपमा पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय संजय गिरी र जितेन्द्र बहादुर राजभण्डारी तथा विशेष अतिथिका रूपमा डिजी २०२६/२७ विष्णु बहादुर कार्की, डिजी २०२७/२८ ईश्वरी प्रसाद ढकाल, डीआरसीसी कृष्णप्रसाद पाण्डे, डीआरसीसी (२०२५/२६) किशोर त्रिपाठी, डीआईआर सुषान अधिकारीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा क्लब अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा बोर्डका पदाधिकार सँगै जनरल मेम्बरहरूका लागि लक्षित प्रशिक्षण सत्रहरू सञ्चालन गरिएका थिए। नेतृत्व विकास, क्लब व्यवस्थापन र रोट्रयाक्ट संरचना सम्बन्धी सत्रहरू पूर्व डिआरआर सुशील कुमार कार्कीलगायत प्रशिक्षकहरूले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा डिआरआर विक्रम क्षेत्रीले आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउन सहयोग पुर्याउने र डिष्ट्रिक्टले लिएको गोल अनुसार कार्यसम्पन्न गर्ने विभिन्न क्लबहरू, क्लबका अध्यक्षहरु, क्लबका सचिवहरू गरी थुप्रै विधामा आधारित रही अवार्डहरू प्रदान गर्नुभएको थियो । त्यस्तै उहाँले डिष्ट्रिक्ट कमिटीका सदस्यहरूलाई मायाको चिनो, प्रशंसा–पत्र र अवार्डद्वारा विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘सहकार्य, प्रतिवद्धता र प्रेरणाको शक्ति नै हाम्रो सफलताको आधार हो ।’
सोही अवसरमा आगामी वर्ष २०२५/२६ का डिआरआर दिनेश गैरे, डिष्ट्रिक्ट सेक्रेटरी चन्द्रभक्त अधिकारी, डिष्ट्रिक्ट ट्रेजर अनुप पाण्डेले आगामी कार्यकालको कार्ययोजना, कार्यक्रमको प्राथमिकता र बजेटसम्बन्धी जानकारी दिनुका साथै पारदर्शिता, नवप्रवर्तन र प्रभावकारिता आधारित नेतृत्वमा केन्द्रित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्लब र सदस्यहरूलाई सेवा, नेतृत्व र नवप्रवर्तनमा उत्कृष्ट योगदानका आधारमा सम्मान र अवार्डहरू प्रदान गरिएको थियो । त्यस्तै डिष्ट्रिक्ट कमिटीका उत्कृष्ट सदस्यहरू र पीडीजीहरूलाई समेत मायाको चिनोद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको विशेष आकर्षणको रूपमा चलचित्र ‘मोहर’ की अभिनेत्री निति शाह तथा चलचित्र टीमको उपस्थिति थियो ।
कार्यक्रममा शिक्षा र समाजसेवा अन्तर्गत ‘बेसिक एजुकेसन’ मा केन्द्रित गर्दै चलचित्र टीमसँग सहकार्यमार्फत नेपालको दुर्गम क्षेत्रमा पुग्ने लक्ष्यका साथ नयाँ अभियानको सुरुवात गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा सांगीतिक प्रस्तुति, सम्मान समारोह र विविध ज्ञानमूलक सत्रहरूले रोट्रयाक्टको उर्जा, प्रतिवद्धता र भावी लक्ष्यप्रतिको एकताबद्ध दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको थियो ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को यो एसेम्बली, नेतृत्व हस्तान्तरणको मात्र प्रतीक नभइ रोट्रयाक्ट अभियानलाई नयाँ गति, दिशा र प्रतिबद्धता प्रदान गर्ने एक प्रेरणादायी अवसरका रूपमा स्मरणीय बन्न पुगेको आयोजकको भनाइ छ ।
उद्घाटन समारोहको अध्यक्षता होस्ट क्लब पाटन हेरिटेजका आइपीपी अग्रहनी अमात्य र डिआरआर विक्रम क्षेत्रीको संयुक्त अध्यक्षतासँगै रोजिना डांगी र आभा दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।
डिष्ट्रिक्ट एसेम्ली लगायतका अन्य सेसनहरु डिस्ट्रिक्ट सेक्रेटरी सुबिन खड्काले सञ्चालन गर्नुभएको रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान वर्ष २०२४–२५ का डिष्ट्रिक्ट मिडिया संयोजक आविष्कार खनालले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij