
सोमवार , चैत्र १६, २०७७
भैरहवा, १६ चैत ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले नेपाल क्षयरोग निवारण संस्थाको ११ औं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित अरुण प्रताप राणा तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
लोटसले आइतबार भैरहवामा होली मिलन तथा सम्मानको आयोजना गरी लायन्स क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर समेत रहेका राणा र सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी, कार्यसमिति, वस्तुगत तथा कर्पोरेट सदस्यहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाले लायन्स र उद्योग वाणिज्य संघबीच अटुट सम्बन्ध रहेको बताए । उनले लायन्समा आबद्ध सदस्य संस्थाको कुनै पदमा पुगे खुशीको अनुभुति हुने गरेको बताए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघले लायन्स क्लबसंग सहकार्य गरेर अगाडी बढ समाजमा ठोस काम गर्न सकिने बताए । ‘लायन्स क्लब संसारकै सामाजिक संस्था हो, जो अग्रणी स्थानमा छ, ’उनले भने ।
लायन्स क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ महेशचन्द थापाले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले समाजमा उदाहरणीय कार्य गरेको बताए । उनले व्यवस्थित रुपमा अगाडी बढे सफलता प्राप्त हुने बताए ।
डिष्ट्रिक डिपार्टमेन्ट चिफ राजेश खरेलले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले गरेका कामहरुको डिष्ट्रिकले मुल्यांकन गरेको बताए । उनले समयसापेक्ष सेवाका हात अगाडी बढाउनुपर्ने बताए ।
जोन चेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी संस्थापक अध्यक्ष अनिता थापाले सदस्यहरुको सहयोग बिना संस्था अगाडी बढ्न नसक्ने बताइन् । उनले सबैको सहयोगले सेवा गर्ने मौका पाएको बताइन् ।
जोन चेयरपर्सन तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव विजय पाण्डेले लायन्सको अभियान निजी क्षेत्रसंग जोडिएको बताए । उनले भने, ‘लायन्समा आबद्ध व्यक्तित्वहरु पनि सिद्धार्थ उद्योग वाणिज्य संघमा हुनुहुन्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कर्ममा विश्वास गर्नुपर्ने बताए । उनले निर्वाचित कार्यसमितिलाई सम्मान गर्ने लायन्स क्लब अफ सिद्धार्थनगर लोटसलाई धन्यवाद दिए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले सम्मानले जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले यस क्षेत्रको आर्थिक चलायमानका लागि एकढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता, कार्यक्रम संयोजक सुनैना के.सी.को स्वागत, प्रथम उपाध्यक्ष मञ्जु खरेलको ध्वजा अभिवादन तथा सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसमा नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव दिपेन्द्र प्रधानले सम्मान कार्यक्रम आयोजना गरेको भन्दै लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष दुर्गा आचार्यलाई धन्यवाद ज्ञापनसहितको पत्र हस्तान्तरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij